देश

भुटानी शरणार्थी प्रकरण : सानु भण्डारीसहित ५ जनाले दिए बयान

काठमाडौं । प्रहरीले भुटानी शरणार्थी प्रकरणमा थुनमा परेकाहरुमाथि दोस्रो चरणमा अनुसन्धान थालेको छ । बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले थुनामा रहेका ५ जना आरोपितहरूसँग बयान लिएका हुन् ।

‘प्रवक्ता (एसपी) कुमोध ढुङ्गेलका अनुसार भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने भन्दै रकम ठगी गरेर थुुनामा रहेका पाँच जनामाथि बयान लिएको हो । टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा सानु भण्डारी, रामशरण केसी, केशव दुलाल, आङटावा शेर्पा र सागर राईसँग बयान लिइएको हो ।

पाँच जना आरोपितहरू जिल्ला अदालत काठमाडौँको आदेशले पुर्पक्षका लागि थुनामा छन् । पहिलो चरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १६ जना थुनामा छन् ।

२०७९ चैत १२ मा मोरङका केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेर प्रहरीले पहिलो चरणको अनुसन्धान पुरा गरेको थियो । सङ्गठित ठगी मुद्दामा ६० दिन अनुसन्धान गरेर प्रतिवेदन बुझाएसँगै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रहरीलाई दोस्रो चरणको अनुसन्धान गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनपछि प्रहरीले दोस्रो चरणमा अनुसन्धान गरेको हो ।

शरणार्थी प्रकरणमा अहिले प्रहरीमा १७ थान जाहेरी दर्ता भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद आङटावा शेर्पाविरुद्ध दोस्रो चरणमा एकजनाले जाहेरी दिएका छन् । शेर्पाले प्रहरीसँगको बयानमा ती पीडितसँग हाइड्रोपावरमा लगानी गर्ने प्रयोजनका लागि रकम लिएको बयान दिएका छन् । उनले बयानमा भनेका छन्–‘जाहेरवालासँग १२ लाख लिएको थिएँ, त्यसमध्ये ११ लाख फिर्ता गरिसकेको छु ।’

प्रहरीले अघिल्लो पटक लिएको बयानमा आरोपितहरुले एकले अर्कालाई आरोप लगाएर उन्मुक्तिको बाटो रोजेका थिए भने यस पटकको बयानमा एक अर्कामा आरोप प्रत्यारोपको बयान नदिएको प्रहरीले निष्कर्ष निकालेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *