काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरूङले झोलुङ्गे पुललाई पर्यटनसँग जोड्नुपर्ने बताएकी छिन्। शुक्रवार नेपालमा १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न भएको उपलक्ष्यमा काठमाडौँमा गरिएको तस्वीर प्रदर्शनीमा मन्त्री गुरूङले यस्तो बताएकी हुन्।
उनले विगतमा झोलुङ्गे पुल केवल एक गाउँबाट अर्को गाउँ जानका निम्ति र खोला वारपार गर्ने प्रयोजनको निम्ति बनाइने गरेको उल्लेख गर्दै अब शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रको विकाससँग जोड्नुपर्ने बताइन्।
उनले झोलुङ्गे पुललाई खोलानालामा मात्रै केन्द्रित नगरी पर्यटनको सम्भावना भएका ठाउँहरूमा पनि निर्माण गर्नुपर्ने बताइन्।
एक पहाडबाट अर्को पहाड जोड्ने झोलुङ्गे पुल निर्माण गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने र यसका लागि मन्त्रालयले नीतिगत व्यवस्था गरिसकेको पनि उनले बताइन्।
उनले झोलुङ्गे पुललाई जनताको आय-आर्जनसँग जोड्नुपर्ने पनि बताइन्। मन्त्री गुरुङले भूगोल अनुसार कहाँ के को व्यवसायिक खेती गर्न सकिन्छ भनेर सूचिकृत गर्न सकेमा सो क्षेत्रको आर्थिक समृद्धिमा सघाउ पुग्ने उल्लेख गरिन्।