काठमाडौं। तिहार मनाउन घर जानेहरुको आज बिहानैदेखि चहलपहल बढेको छ । नयाँ बसपार्क, कोटेश्वर, बल्खु, कलंकी लगायतका स्थानमा आज बिहानैदेखि जन्मथलो फर्कनेहरुको भिडभाड थियो ।
धेरैजसो शिक्षण संस्थाहरु दसैँदेखि तिहार सम्म नै बन्द भएकाले दसैँअघि घर गएका विद्यार्थीहरु अझैं काठमाण्डौ फर्केकै छैनन् । तर विभिन्न कामको सिलसिलामा राजधानीमा बस्दै आएकाहरु तिहार मनाउन घर जाने भएपछि एकाबिहानैदेखि चहलपहल बढेको हो ।
यात्रुहरु घर जान निस्किएपछि उपत्यकाका सडकमा सार्वजनिक यातायातका साधनहरु पनि तुलनात्मक रुपले आज बिहान बढी चलेका देखिन्थे । हिजो साँझदेखि नै घर जानेहरुको संख्या बढेको थियो । आज शनिबार र भोलिदेखि तिहारको बिदा परेको छ ।
यसैगरी आगामी शुक्रबार एकदिन बाहेक मंसिर २ गते सम्म सार्वजनिक बिदा परेको छ । मंसिर ३ गतेदेखि मात्र नियमित रुपमा कार्यालयहरु खुल्ने भएपछि यसपटक घर जानेहरुलाई पनि लामो छुट्टी मिलेको छ ।