झापा । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) ले चलाएको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिंदा झापाको कमल गाउँपालिका–६ का एक युवकको मृत्यु भएको छ ।
कन्काई नगरपालिका–८ बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार कमल– ६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको हो । शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक कमल–६ का १९ वर्षीय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ वर्षीय पुजन राजवंशी घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ७८३९ नम्बरको स्कारपियो र विपरीत दिशाबाट जाँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । स्कारपियो र चालक नेपाल प्रदेश प्रहरी कार्यालय, धरानमा कार्यरत प्रहरी उपरीक्षक ५१ वर्षीय भीमबहादुर दाहाललाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले जानकारी दिए ।