काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावितहरुका लागि राहत,उद्धार र व्यावस्थापनका विषयमा सरकार गम्भिर भएको बताएका छन् । आइतवार विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको १९ औँ बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरुका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको स्पष्ट पारे ।
सरकारले तत्काल भूकम्प पिडितहरुका लागि त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्याङ्केट र खाद्यान्नहरु पठाएको र पठाउने क्रम जारी रहेको उल्लेख गरे । संभव भएसम्म सम्पूर्ण त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्याङ्केट, खाद्यान्नहरु पठाइराखेका बताउदै उनले भने,‘ राहतमा हाम्रो ध्यान गएको छ ।’ ‘सरकारले जतिसुकै तदारुकता देखाएपनि एकैचोटी पहिलो दिन सबै ठाउँमा त्रिपाल, सबै ठाउँमा म्याट्रेस, सबै ठाउँमा ब्याङ्केट पुर्याउन सक्ने स्थिति नभएपनि सरकारले भूकम्प पिडितको समस्याका बारेमा काम गरिरहेको छ ।
उनले आवश्यकताअनुसार चिकित्सक, स्वास्थ्य उपकरण र औषधिहरु पनि उपलब्ध गराइएको बताए ।साधन, स्रोतको आधारमा सम्पूर्ण ध्यान त्रिपाल, म्याट्रेस, ब्ल्याङ्क्वेट र खाद्यान्न पुर्याउने र डाक्टरहरुको आवश्यकताअनुसार उपलब्ध गराउने स्वास्थ्य उपकरण, औषधि उपलब्ध गराउने काम गरेकाले सरकार विश्वस्त रहेको गृहमन्त्ती श्रेष्ठले उल्लेख गरे ।