
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै जाति तथा समुदायका भाषा, साहित्य तथा संस्कृतिको संरक्षणबाट समाजिक एकतालाई बलियो बनाउन सकिने बताएका छन् ।
नेपाल संवत् ११४४ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विविध कला, मौलिक संस्कृति तथा चाडपर्वले सांस्कृतिकरूपमा एकापसमा जोड्ने फरक भौगोलिक क्षेत्रका नेपालीलाई एकताबद्ध गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका हुन् ।
तत्कालीन समाजमा शङ्खधर साख्वाले जनताको ऋणमोचन गरी सञ्चालन गरेको संवत्ले राष्ट्रको सांस्कृतिक पहिचान कायम गरेको बताउँदै सन्देशमा उनले यसलाई प्रवर्द्धन गर्नु सबैको कर्तव्य भएको उल्लेख गरे।
अध्यक्ष नेपालले राष्ट्रिय उत्पादन वृद्धि गर्न रोजगारका अवसर सिर्जना गरी सामाजिक रुपान्तरण गर्नुपर्नेमा जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्ने सन्देशमा उल्लेख गरे ।
अध्यक्ष ओलीद्वारा शुभकामना
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११४४ को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । “नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । आजैको दिन नेवार समुदायमा म्हः पूजासमेत गरिन्छ, ” सामाजिक सञ्जालमा अध्यक्ष ओलीले लेखेका छन् ।