खेलकुद

इन्दु बर्माको कप्तानीमा नेपालले तान्जानियासँग पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै

काठमाडौं । इन्दु बर्माको कप्तानीमा आज (बुधबार) नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार देशीय टी–२० श्रृंखला तान्जानियासँग खेल्दैछ । हङकङमा सुरु हुने श्रृंखला (सिरिज) को उद्घाटन खेलमा नेपाल र तान्जानिया भिड्न लागेका हुन् ।

यो खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ । नेपालले इतिहासमै पहिलो पटक तान्जानियासँग खेल्न लागेको हो । यो टिम आईसीसी महिला टी–२० वरियताको १९ औँ स्थानमा छ भने नेपाल २१ औँ स्थानमा छ । कप्तान फतुमा किबासुको टिम सबैभन्दा बलियो भएको हिसाबले उपाधि जित्ने लक्ष्य राखेको छ । तान्जानिया आईसीसीको अफ्रिकाभरीकै सबैभन्दा सक्रिय एशोसिएट देश हो ।

तान्जानिया निकै बलियो महिला क्रिकेट टोली हो । यो टिमलाई हराउनु नेपालको लागि चुनौती हुनेछ । नेपाली टिममा धेरै नयाँ खेलाडी छन् । तान्जानियासँगको पहिलो खेल नेपाली टिमको लागि परीक्षा हुनेछ । इन्दु बर्मा कप्तान बनेसँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

नेपाल र तान्जानियासँगै आयोजक हङकङ र जापान पनि सिरिजमा सहभागी छन् । आईसीसीको वरीयतामा तान्जानिया सबैभन्दा उत्कृष्ट टोली हो । सिरिजमा आजै दिउँसो पौने १२ बजे जापानले आयोजक टोलीको सामना गर्ने छ । नेपालले दोस्रो खेल कात्तिक ३० गते जापानसँग खेल्नेछ । हङकङसँगको खेल भने मंसिर २ गते हुनेछ । प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल मंसिर ३ गते हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *