
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा सबस्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा सुरक्षाकर्मी (सशस्त्र र नेपाल प्रहरी) माथि स्थानीयले आक्रमण गरेका छन् । सबस्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापना गर्न नहुने भन्दै स्थानीयले गरेको ढुंगामुढा प्रहारबाट डीएसपी देवराज राईसहित तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । स्थानीय जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा, हर्कमान वाइवासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ४००\२२०\१३२\११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।
सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायव उपरीक्षक (डीएसपी)को नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय भएपछि सोही अनुसार शुक्रबार बेसक्याम्प स्थापना गर्न जाँदा स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत जानकारी दिए ।
सोही स्थानीयवासीले गरेको आक्रमणमा परी डिएसपी देवराज राईसहितका सुरक्षाकर्मी घाइते भएका हुन् । झडपका कारण बेलुकासम्मै लप्सीफेदी क्षेत्र तनावग्रस्त भएको उनले बताए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जना र नेपाल प्रहरीका एक जना गरी तीन जना सुरक्षाकर्मी घाइते भएका छन् । सुरक्षाकर्मीमाथि आक्रमणमा संलग्न स्थानीय चार जना पक्राउ परेको समेत उनले जानकारी दिए ।
लप्सीफेदीमा सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने ५० जना जग्गाधनीहरुको करिब १७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । जग्गाधनीहरुले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् । जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । मुआब्जा तथा क्षतिपूर्ति बापत करिब ५० करोड रुपैयाँ वितरण गरिएको नेपाल विद्युत प्राधिकरणको रेकर्ड छ । तर, राष्ट्रिय सिमान्तीकरण विरुद्ध अभियान (समान, नेपाल० नाममा सबस्टेसन निर्माणमा अवरोध भइरहेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयका जायज मागलाई पूरा गरिएको तर केही गैरसरकारी संस्था र असम्बन्धित व्यक्तिहरुको उक्साहटका कारण सबस्टेसन निर्माणमा अवरोध भइरहेको बताए । चार वटा सवस्टेसनहरु गरी अनुमानित लागत करिव १८ अर्व रुपैयाँ रहेको छ ।