देश

लप्सीफेदीमा प्रहरीमाथि आक्रमण गर्ने १४ जना नियन्त्रणमा

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका –३ लप्सीफेदीमा सबस्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा सुरक्षाकर्मी (सशस्त्र र नेपाल प्रहरी) माथि आक्रमण गर्ने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति चार जना आक्रमणकारीलाई प्रहरीले नियन्त्रण गरेको थियो भने शनिबार बिहान १० जनालाई नियन्त्रणमा लिएको हो ।

शनिबार बिहान तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित १० जना पक्राउ परेका छन् । शुक्रबार राति जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा पक्राउमा परेका थिए ।

नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार राति प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायव उपरीक्षक (डिएसपी)को नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय भएको थियो । सोही निर्णय बमोजिम शुक्रबार प्रहरीको टोली लप्सीफेदी पुगेको थियो । तर, स्थानीयले बाटोमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए ।

स्थानीयको आक्रमणबाट डीएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए ।शंखरापुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग रहेको बताए । उनका अनुसार शुक्रबार प्रहरी पुग्दा स्थानीयले आफ्ना माग दोहोर्याउँदै प्रदर्शन गरिरहेका थिए । त्यही क्रममा झडप भएको वडाअध्यक्ष तामाङको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट