
काठमाडौं । हिँउद महिना शुरु भएसँगै चिसो निकै बढिसकेको छ । चिसोका कारण जाजरकोटमा थप ३ जना भूकम्पपीडितको मृत्यु भएको छ। जाजरकोट रुकुम पश्चिममा चिसोका कारण १० जना भूकम्पपिडितले ज्यान गुमाएको नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।
उनका अनुसार, जाजरकोटको जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३, थानबाडाकी ५६ वर्षीया मनसरी कामी र भेरी नगरपालिका–४, तल्याउनका केशव भडेलको मंसिर २ गते मृत्यु भएको हो।
यसअघि पनि बारेकोट गाउँपालिका–१, रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४, जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका–४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड–४ की ४८ वर्षीया पम्फा रावल, बारेकोट गाउँपालिका, बयालाका ६० वर्षीय कर्णवीर विक र बारेकोट–६ ताँसीका ५५ वर्षीय वीरबहादुर विकले ज्यान गुमाइसकेका छन् ।
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा गरी १५४ जनाको मृत्यु भयो भने सयौँ घाइते भए।
भूकम्पले आंशिक र पूर्ण क्षति गरी ३५ हजारभन्दा बढी घर भत्किँदा हजारौँ परिवारको बिजोग भएको छ। कठ्यांग्रिँदो जाडोमा उनीहरू एउटा त्रिपाल तथा कम्बलको भरमा खुला चौरमा बस्न बाध्य छन्। सरकारले अब उनीहरुलाई चिसोबाट बचाउन विशेष अभियान चलाएर राहत वितरण गर्दै सहजता कायम गर्नुपर्छ । यस अघि बाढ्दै आएको राहत सबैलाई सहि समयमा नपुग्दा भूकम्पपिडितहरु भोकै र अव्यवस्थित बस्नुपरेको गुनासो छ ।