काठमाडौं । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको सडक क्षेत्रलाई ३० दिनसम्मका लागि निषेधित क्षेत्रका रुपमा घोषणा गरेपछि काठमाडौँ प्रशासनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कार्यक्रम गर्नका लागि फरक स्थान तोकिदिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७गते हुने ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनका लागि कार्यक्रम स्थल बल्खु तोकिदिएको हो । काठमाडौँ प्रशासनले तोकिदिएको ठाउँमा नै कार्यक्रम गर्न तयार रहेको व्यावसायी प्रसाईंले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयका एक जना अधिकृतका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई बल्खुमा प्रदर्शन गर्न दिने निर्णय गरेको हो । माइतीघरमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि युवा संघले पनि काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार सूचना जारी गरेर कार्यक्रमस्थल तीनकुनेमा सरेको सुचना जारी गरेका छन् ।