विश्व

सबै योग्य क्यानडालीको लागि भारतीय ई–भिसा सुविधा पुनः सुरु

ओटावा, क्यानडा । क्यानडास्थित भारतीय उच्चायोगले क्यानडाका योग्य नागरिकका लागि बिद्युतीय (इलेक्ट्रोनिक) भिसा सेवा पुनः सुरु गरेको बुधबार जनाएको छ ।

क्यानडास्थित भारतीय उच्चायोगले जारी गरेको सूचनामा भनिएको छ, “नियमित÷साधारण क्यानडाली राहदानी भएका सबै योग्य नागरिकका लागि २२ नोभेम्बर २०२३ देखि भारतीय इलेक्ट्रोनिक भिसा सुविधा पुनस्र्थापित गरिएको छ ।”

टोरन्टोस्थित भारतीय महावाणिज्य दूतावास र भ्यानकुभरस्थित भारतीय महावाणिज्य दूतावासले भनेको छ, “विद्यमान प्रावधानहरू अनुसार क्यानडाको राहदानीको अन्य कुनै पनि श्रेणीका धारकहरूले नियमित कागजी भिसाको लागि आवेदन दिनुपर्नेछ । विवरणहरू भारतीय उच्चायोग, ओटावाको सम्बन्धित वेबसाइटहरूमा फेला पार्न सकिन्छ ।”

भारत र क्यानडाबीच कूटनीतिक विवाद चलिरहेकै बेला ई–भिसा सेवा पुनः सञ्चालन गर्ने निर्णय भएको हो । भारतीय घरेलु प्रविधि–सक्षम सेवा प्रदायक निकाय (बिएलएस इन्टरनेसनल) का अनुसार गत सेप्टेम्बरमा क्यानडास्थित भारतीय नियोगले अर्को सूचना जारी नभएसम्मका लागि भिसा सेवा स्थगन गरेको थियो ।

बीएलएस इन्टरनेसनल सर्भिसेस लिमिटेड विश्वव्यापी रूपमा सरकारी र कूटनीतिक नियोगहरूको लागि एक भारतीय ‘आउटसोर्सिङ’ सेवा प्रदायक हो । कम्पनीले भिसा, राहदानी, कन्सुलर, प्रमाणीकरण र नागरिक सेवाहरूको व्यवस्थापन गर्दछ ।

भारतीय नियोगकोसूचना अनुसारसन् २०२३ को सेप्टेम्बर २१ देखि लागू हुने गरी भारतीय भिसा सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो । यद्यपि, अक्टोबरमा, भारतले सुरक्षा स्थितिको पुनरावलोकन पछि क्यानाडामा चार श्रेणीका लागि भिसा सेवाहरू पुनः सुरु गर्ने निर्णय गरेको थियो ।

प्रवेश भिसा, व्यापारिक भिसा, मेडिकल भिसा र सम्मेलन भिसा गरी चार वर्गमा भारतले अक्टोबर २६ देखि क्यानडामा भिसा सेवा पुनः सुरु गर्ने निर्णय गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसै वर्षको सुरुमा क्यानाडाको भूमिमा खालिस्तानी हरदीप सिंह निज्जर, (निज्जरलाई भारत सरकारले आतङ्कवादी समूहको सदस्यका रूपमा चिन्छ) को हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएपछि भारत र क्यानडाबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । गत जुन १८ मा क्यानडाको सरेस्थित गुरुद्वाराबाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *