काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै भएको बताएका छन्। मंगलबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको विषयमा प्रश्न उठाउन सकिए पनि राजतन्त्र ल्याउँछु भन्नु काल्पनिक भएको उनको भनाइ छ ।
‘गणतन्त्र जनताको व्यवस्था हो, यो कुनै परिवार र खानदानको व्यवस्था होइन। सरकार र मन्त्रीको विषयमा प्रश्न उठाउन सकिएला तर फेरि पनि राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र हो’, उनले भने। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले मेडिकल व्यवसायी दुर्गा प्रसाईप्रति लक्षित गर्दै राजतन्त्र ल्याएपछि बैंकको ऋण मिनाहा हुन्छ भनेर आन्दोलन गर्नु व्यर्थ भएको बताए। उनले राजावादीहरूको आन्दोलन उपलब्धिविहीन भएको दाबी पनि गरे ।
नेपालले देशको आर्थिक संकट र संघीयताको विषयमा भएका गल्ती कमजोरी भने सच्चाउनुपर्नेमा जोड दिए। भूकम्प प्रभावित क्षेत्रको अनुगमन गर्न रुकुम पश्चिम र जाजरकोट पुगेका उनले पीडितको राहत र पुनः स्थापनाका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने पनि बताए।