काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्याको बसाइँसराइ रोक्न आवश्यक रहेको बताएका छन् । मंगलबार राजधानीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा आयोजना गरेको जनसङ्ख्या र बसाइसराइ व्यवस्थापनको सबलीकरण सम्बन्धी परिसंवाद कार्यक्रममा बसाइँसराइ रोक्न आवश्यक रहेको बताउदैँ तीनै तहका सरकार गम्भिर हुनुपर्ने बताएका हुन् ।
अहिले पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरु निरन्तर विभिन्न सुविधा सम्पन्न ठाउँ तराई र शहर केन्द्रित भएकाले पहाडमा बस्ने मानिसको चाप न्युन भएको बताउदैँ समयमा नै व्यावस्थापन गर्न नसके भावी दिनमा ठूलो समस्या पर्ने उनले बताए । मन्त्री बस्नेतले यसको समाधान र व्यावस्थानका लागि सरोकारवाला निकाएले समयमा नै ध्यान पु¥याउनुपर्ने बताए ।
बसाइँसराइ व्यवस्थापन गर्ने कामका लागि सबै निकायको उतिकै जिम्मेवारी रहेको उनले बताए । उनले भने,‘ जनसङ्ख्या व्यवस्थापन बहु सरोकारवाला मुद्दा हो । यसको समाधान सहकार्यका माध्यमबाट गर्नु पर्छ । ’ हिमाल र पहाडबाट जनसङ्ख्या सहरी क्षेत्रमा बसाइसराइ बढ्दै जाने र सहरी क्षेत्रमा जनसङ्ख्याको चाप थेग्नै नसकिने गरी बढ्नु भविष्यका लागि समेत चिन्ताको विषय हो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईँले नेपालीको औसत आयु बढ्दै जानु र जन्मान्तर घट्दै गइरहेको बेला यसका विषयमा पनि विज्ञहरूले चासो राख्नु पर्नेमा जोड दिइन् । मन्त्रालयका अतिरिक्त सचिव डा टङ्क वाराकोटीले सरकारले अगामी १६ औँ पञ्चवर्षीय योजनामा यो विषयलाई प्राथमिकताका साथ संशोधन गर्नु पर्ने आवश्यकमाथि जोड दिए ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनकी प्रतिनिधि हेनेल फोर्सले खुला सिमानाका कारण पनि नेपालमा बसाइसराइ बढेको बताउँदै राज्यले बसाईसराईलाई व्यवस्थित गर्न सके विकासले गति लिन सक्ने बताइन ।