देश

पर्यटकीय गन्तव्य बन्दै केभहिल

बेनी।धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने अग्लो डाँडा । हिमालसँगै म्याग्दीका ३६ बढी वडाका भूभागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल अहिले ‘केभहिल’को नामबाट पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्न थालेको छ । म्याग्दीको बेनी नगरपालिका–५ स्थित गाजनेको धुरीमा रहेको केभहिल अहिले पर्यटकको रोजाइमा पर्न थालेको छ । बेनी नगरपालिका–५ गाजने र बेनी नगरपालिका–९ तोरीपानीको शिरमा अवस्थित केभहिल क्षेत्रमा अहिले आन्तरिक पर्यटकको आगमन बढेको छ ।

बेनीबाट पुलाचौर हुँदै गाजनेसम्म सडकको पहुँच पुगेको छ भने बेनी–पुलाश्रम–घतानकोट–ढोलठान हुँदै केभहिल र तोरीपानीबाट पैदलमार्ग हुँदै आन्तरिक पर्यटक केभहिल क्षेत्रमा पुग्ने गर्छन् । केभहिलमा बेनी नगरपालिकाले भ्यूटावर, पदमार्गलगायतका पूर्वाधार निर्माण गरेपछि पर्यटकको आगमन बढेको स्थानीयवासी बताउँछन् । पहिले गुफा डाँडाका नामले चिनिने यस क्षेत्रलाई पर्यटक आकर्षित गर्न केभहिलका नामले चिनाउन थालिएको र पर्यटन प्रवर्द्धन अभियानले पर्यटकको चहलपहल बढ्दो क्रममा छ । गाजने, पुलाश्रम र तोरिपानी क्षेत्र भएर केभहिलको भ्रमणमा जानेहरू बढेको तोरिपानीका स्थानीय सागर बानियाँले बताए।

‘पहिले खासै चर्चामा थिएन, अहिले यस क्षेत्रको प्रचार–प्रसार र पर्यटन पूर्वाधार बन्ने क्रम बढेपछि आन्तरिक पर्यटक बढेका छन्, शनिबार र बिदाका समयमा त यस क्षेत्रमा घुम्न आउनेको लर्को नै लाग्ने गर्छ,’ उनले भने । यहाँबाट धवलागिरि र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमालको अवलोकन गर्न सकिन्छ । प्राकृतिक रूपमै भ्यू प्वाइन्टको आकारमा समुद्री सतहबाट दुई हजार दुई सय मिटर उचाइमा रहेको केभहिलको पहाडबाट गुर्जा, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिमाल एकैठाउँबाट अवलोकन गर्न सकिन्छ ।

पहाडको थुम्कोबाट मनोरम हिमशृङ्खला र भूबनोटको अवलोकन गर्न पाउँदा मन प्रफुल्लित भएको केभहिलमा पुग्नुभएका बेनीका सङ्गीता पौडेलले बताए । ‘ठाउँ अत्यन्तै रमाइलो रहेछ, म्याग्दीका धेरैजसो गाउँठाउँसमेत देख्न सकिने, हिमाल आँखै अगाडि उभिएजस्तो देखिने रहेछन्, पैदल र मोटरबाटो सजिलो भैदिए धेरै जना यहाँ आउन पाउने थिए,’ उनले भने । केभहिल, डढेकोट र भुमेथानबाट हिमालका चुचुरा, वनजङ्गल, नदीनाला, विविधतायुक्त ग्रामीण भूगोल र बेँसीका तरेली परेका फाँटको मनमोहक दृश्यावलोकन गर्न पाउनु यहाँ पुग्ने पर्यटकका लागि प्रमुख आकर्षणका रूपमा रहेका छन् ।

पर्यटकीयसँगै धार्मिक र ऐतिहासिक महत्वका हिसाबले समेत गाजने क्षेत्र सम्भावनायुक्त मानिन्छ । तत्कालीन बाइसेचौबीसे राजाका पालामा तत्कालीन पर्वत राज्यका तृतीय मल्लराजा दिलीप बमले डढेकोटमा दरबार बनाएर शासन सञ्चालन गरेको इतिहासमा उल्लेख छ । गाजनेमा दिलीपबम मल्लले १५५०–६० सालको समयमा जगन्नाथ मन्दिरसमेत निर्माण गरी नृत्य पूजाआजा गर्न सुरु गरेको मन्दिरसमेत रहेकाले यस क्षेत्र पर्यटकीय, धार्मिक र ऐतिहासिक महत्वले भरिपूर्ण रहेको स्थानीय अगुवा नीलकण्ठ शर्माले बताए।

यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भ्यूटावर निर्माण, ऐतिहासिक जगन्नाथ मन्दिरको पुननिर्माण, पदमार्ग निर्माणलगायतका कार्यले सहयोगी भूमिका खेलेको छ । २०६९ मङ्सिर ७ देखि १३ गतेसम्म लगाइएको सप्ताहव्यापी श्रीमदभागवत् ज्ञान महायज्ञबाट सङ्कलित एक करोड ८ लाख रुपैयाँमध्ये जगन्नाथ मन्दिरको पुनःनिर्माणका लागि ४७ लाख ९१ हजार ९ सय ७३ खर्च भएको गुठी व्यवस्थापन समितिका सचिवसमेत रहेका स्थानीय अगुवा शर्माले जानकारी दिए।

मन्दिर शिखरशैली एवं काठमाडौँको पाटन, त्रिपुरेश्वर र भारतको उडिसा राज्यमा अवस्थित कृष्ण तथा जगन्नाथ मन्दिरको आकार र शैलीमा निर्माण गरिएको छ । डढेकोटमा तत्कालीन राजाले बनाएको दरबार भग्नावशेषका रूपमा रहेको छ । यस क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक सम्पदा र पर्यटकीय गन्तव्यको विकासका लागि पूर्वाधार निर्माण र प्रचारप्रसारका लागि पहल गरिएको बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले बताए । उनले नगरपालिकाबाट केभहिलमा भ्यूटावर निर्माण गरिएको र त्यसलाई थप सुधार गरेर सुरक्षित बनाउन आवश्यक रहेको बताए।

गाजनेबाट डढेकोटसम्म पदमार्ग निर्माण भएको छ । पुलाचौरबाट नयाँगाउँ हुँदै जगन्नाथसम्म सडक पुहँच पुगेको छ । यो सडकलाई स्तरोन्नति गरी नियमित सहज सवारीआवत जावत गर्ने बनाउनका लागि नगरपालिका र प्रदेश सरकारमा पहल गरिएको छ । बेनीबाट पदमार्गले समेत जोडिएको यो क्षेत्रलाई व्यवस्थित पदमार्ग बनाउन बेनी–अर्थुङ्गे–पुलाश्रम–घतानकोट–ढोलठान–केभहिल–डढेकोट हुँदै पर्यटकीयस्थल टोड्के जोड्ने पदमार्ग निर्माण गर्न सकेमा यो क्षेत्रको पर्यटन विकासले थप सार्थकता पाउने वडाध्यक्ष बानियाँको भनाइ छ । यस क्षेत्रमा जाने पर्यटकलाई लक्षित गरेर गाजनेमा घरबास र सरिबोटको फाँटमा होटल सञ्चालन गर्ने स्थानीयवासीले तयारी गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट