देश

पूर्वएआईजी चन्दको स्पष्टोक्ति– तारा बरालसँग विवाह गर्ने सहमति भएको छैन

काठमाडौं।नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दले सामाजिक अभियन्ता तारा बराल र आफूबीच विवाह गर्ने कुनै सहमति नभएको बताएका छन् ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नाम जोडेर भइरहेका विभिन्न टीकाटिप्पणी गलत भएको भन्दै आफू र तारा बरालबीच विशुद्ध व्यवसायिक र सामाजिक सम्बन्ध मात्रै रहेको बताए ।

तारा बरालसँग आफ्नो विगतमा पनि विवाह गर्ने समझदारी नबनेको, अहिले पनि नरहेको र भविष्यमा पनि नहुने उनले दाबी गरे । बरालले आफूसँग विभिन्न रेकर्ड छ भनेर भ्रम फैलाउने काम गरेको आरोप उनको छ । भ्रम फैलाएर हनी ट्रयापमा पार्न खोजेको पनि हुनसक्ने उनले आशंका व्यक्त गरे ।

‘तारा बरालले भुँईमा भ्यागुतो उफ्रँदा पनि रेकर्ड गर्ने गरेको’ टिप्पणी गर्दै उनले दुराशय राखेर गरिएको कुनै कामबारे भ्रममा नपर्न आग्रह गरे ।

चन्दकी श्रीमतीको २०६२ सालमा निधन भएको थियो । त्यसपछिको १८ वर्ष आफूले दुईटा बच्चाको आमाबाबुकै भूमिका निर्वाह गरेर बसिरहेको उनले बताए ।

उनले अहिले देशभर हनी ट्रयापिङबाट धेरै मानिस पीडित भएको बताए । ‘पीडित हुनेको संख्या हेर्दा हनी ट्रयापरविरुद्धको संगठन नै बनाउन पर्लाजस्तो भएको’ टिप्पणीसमेत उनले गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *