काठमाडौं । नेपाली कांग्रेस पश्चिम नवलपरासीको पहिलो जिल्ला भेलामा विवाद देखिएको छ । कांग्रेस नेता शेखर कोइरालाले उद्घाटन गर्ने भेला संस्थापन पक्षले बहिष्कार गर्ने भएको छ।
जिल्ला सभापति अर्जुनकुमार पोखरेलले एकलौटी रुपमा पार्टी चलाउन खोजेको, केन्द्रको निर्देशन अवज्ञा गरेको र गुट निकटका ब्यक्तिहरुलाई मात्र मनोनीत गरेपछि विवाद देखिएको संंस्थापन पक्षका नेता मोहन शर्माले बताए ।
‘विधानअनुसार चल्नुपर्छ कि पर्दैन, वडागत तहबाट सम्मेलन भएर आउनुपर्छ भन्ने लगायतका माग राख्यौं, तर सभापतिजीले सुन्नु भएन । त्यसैले हाम्रा साथीहरु आजको भेलामा उपस्थित हुनु हुनु हुन्न,’ उनले भने ।
केन्द्रीय सदस्यहरु, प्रदेश सभा सदस्यहरुसहित भ्रातृसंगठनहरुले समेत आपत्ति जनाइरहँदा जबर्जस्ती जिल्ला सम्मेलन गर्न खोज्नु गलत भएको उनको भनाइ छ ।
इतर पक्षका नेता लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले भने पार्टीका सबै कमिटीहरु स्वायत्त रहने हुँदा हरेक निर्णयमा माथिल्लो तहको निर्णय नै कुर्नु बाध्यकारी नहुने बताउँछन् ।
पश्चिम नवलपरासीमा विक्रम खनाल र देवेन्द्रराज कँडेलको दुई गुट छ । दुई गुटले नै एकअर्काको कार्यक्रममा असहमति जनाउँदै आइरहेका छन् ।