देश

दोलखा सुन प्रकरण : नौं अभियुक्त जेल चलान, तीन जना धरौटीमा रिहा

दोलखा । दोलखामा बरामद ११ किलो सुन तस्करी प्रकरणका नौं अभियुक्तलाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला अदालत न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले शुक्रबार ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । तीन जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिइएको छ । उक्त प्रकरणमा पक्राउ परेका दावा भन्ने आकार लामा, टासी भन्ने गेङ्रु, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लालबहादुर तामाङ, केशर तामाङ र माधव कुमार मगरलाई थुनामा राख्न अदालतले आदेश दिएको हो ।

यस्तै घटनामा संलग्न आरोप लागेका महिमा माझीबाट १ करोड ७९ लाख ४० हजार रुपैयाँ, दीपेन्द्रराज शाक्यबाट ९३ लाख ५० हजार रुपैयाँ र तिलक विकबाट ८८ लाख रुपैयाँ धरौटी लिन जिल्ला अदालत दोलखाले आदेश दिएको छ ।

प्रहरीले दोलखाको बिगु गाउँपालिका–१ लमाबगरबाट ४ किलो, जामुने भन्ने ठाउँबाट ३ किलो र लामाबगरबाट ४ किलो गरी ११ किलो सुन बरामद गरेको थियो । सुन तस्करी प्रकरणमा प्रहरीले अनुसन्धान गरी २६ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो । अनुसन्धानका क्रममा तस्करहरूले चिनियाँ नागरिकसँग मिलेर चीनबाट दोलखाको बाटो हुँदै सुन तस्करी गरेको पत्ता लागेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *