राजनीति

कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन सुरु

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन आज (शनिबार)देखि बुटवलमा सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुई दिनसम्म चल्ने सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।

आइतबारसम्म चल्ने सम्मेलनमा सभापति देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौरलगायत केन्द्रीय सदस्यहरु र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसहित ६ वटै प्रदेशका सभापतिहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा प्रदेशका ७ सय ५० बढी प्रतिनिधिको सहभागिता रहेको कांग्रेसले जनाएको छ ।

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष, प्रदेश पदाधिकारी, सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्मेलनमा सहभागिता रहेको जानकारी दिए ।

उद्घाटन सत्रमा नेताहरुले सम्बोधन गरेपछि बन्द सत्रमा राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पेस हुनेछ । ती प्रतिवेदनमाथि छलफल गरी पार्टीको आगामी कार्यदिशा तय गरिने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट