देश

लागुपदार्थ दुर्व्यसन रोक्न प्रहरीको ‘नवप्रवर्तनीय’अभियान

महोत्तरी। नेपाल प्रहरीले मधेस प्रदेशमा लागुपदार्थ दुर्व्यसनविरुद्ध नयाँ अभियान सञ्चालन गरेको छ । लागुपदार्थको दुर्व्यसन र यसको कारोबारविरुद्ध सचेतना र निस्तेजकार्य सँगसँगै बढाउन प्रदेशका आठवटै जिल्लामा ‘नवप्रवर्तनीय कार्य’अभियान सञ्चालन गरिएको नेपाल प्रहरी, मधेस प्रदेश कार्यालय जनकपुरधामले जनाएको हो ।

अभियानलाई ‘एन्टी ड्रग क्याम्पनिङ्’ भनिएको छ । यसै साताको प्रारम्भमा महोत्तरीबाट सुरु गरिएको अभियानअन्तर्गत दुर्व्यसनी र कारोबार गर्नेको पहिचान, नियन्त्रण, अभिलेखीकरण, मनोपरामर्श, अभिभावकसँग परामर्श र कानुनी कारबाहीका चरण रहेको नेपाल प्रहरी मधेस प्रदेश कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिए ।

“हामीले अभियानको पहिलो चरणमा दुर्व्यसनी र कारोबारीको पहिचान गर्न थालेका छौँ, यसअन्तर्गत दुर्व्यसनी कुन अवस्थाको छ, त्यो छुट्टिन्छ”, भट्टराई भन्छन्, “भर्खरै सम्पर्कमा पुगेको भए मनोपरामर्श र संवादका विधिले अभिभावकको जिम्मा लगाइन्छ, उसको दुर्व्यसनको प्रकृतिअनुसार हामी कारबाहीको चरणसम्म पुग्छौँ ।”

कारोबारमै संलग्न भएका पहिचान गरिएकालाई भने कानुनी कारबाही बढाइने भट्टराईको भनाइ छ । अभियान प्रारम्भसँगै महोत्तरीमा पहिचान गरिएका चार सय ९५ जनासँग सचेतनाकक्षासँगै उनीहरुलाई मनोविज्ञबाट मनोपरामर्श दिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

भर्खरै दुर्व्यसनीको सङ्गतमा परेका मनोपरामर्शपछि सुधारिएर नियमित पारिवारिक जीवनमा फर्कने अपेक्षा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्ल बताउँछन्।

भारतसँगको खुला सीमा आवतजावत भएको हुँदा दुर्व्यसनी भारतीय बजारमा गई लागुऔषध प्रयोग गरेर फर्कने, यस्ताले केही आफ्नो प्रयोगका लागि ल्याउने गरेका पाइएको मधेस प्रहरी कार्यालयले जनाएको छ । यसैगरी कारोबारीले प्रतिबन्धित यस्ता लागुऔषध लुकाइछिपाइ दुरदराजसम्म पुराउने गरेका प्रहरी अधिकारी बताउँछन् ।

मधेसमा लागुऔषधको दुर्व्यसन र कारोबार भयावह रहेको प्रहरी अधिकारी स्वीकार गर्छन् । चालु आर्थिक वर्ष २०८०/८१ मा हालसम्म आठ जिल्लामा लागुऔषधसम्बन्धी दुई सय ६३ वटा मुद्दा दर्ता भइसकेका प्रहरी नायब महानिरीक्षक भट्टराई बताउँछन् ।

यसअघि आव २०७९/८० मा नौ सय ३७ र आव २०७८/७९ मा नौ सय २७ वटा यस प्रकृतिका मुद्दा दर्ता भएका प्रहरी अभिलेखमा उल्लेख छ । अभियानमा सीमा नाकामा प्रहरी मुस्तैदी बढाइएको प्रहरीको भनाइ छ ।

यद्यपि दुर्व्यसनीले कति लागुपदार्थ सेवन गरेको छ ? ऊ सिकारु हो वा अभ्यस्त हो ? यो थाहा पाउन जाँच्ने यान्त्रिक उपकरण नहुँदा उनीहरुको ठिकठिक अवस्था बुझ्न कठिनाइ हुने गरेको प्रहरी नायब महानिरीक्षक भट्टराई बताउँछन् । यसबीच यो अभियानका लागि आवश्यक उपकरण र अन्य सहयोग मधेस प्रदेश सरकारबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको उनले बताए ।

अत्यन्त भयावह बन्दै गएको लागुपदार्थ दुर्व्यसन तथा ओसारप्रसारविरुद्धको यो अभियानमा राज्यका सबै अङ्ग, प्रदेश तथा स्थानीय सरकार, राजनीतिक दल, सामाजिक सङ्घ संस्था र प्रत्येक घरपरिवारको प्रत्यक्ष सहभागिता बढ्न आवश्यक रहेको र यो साथ पाइने मधेस प्रहरी कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *