ओखलढुंगा । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले एनसेल घोटाला छानविन गर्न माग गरेका छन् । नेपाली कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले हालै एनसेलमा अर्बौं घोटला भएको समाचार आएको भन्दै यसबारे छानविन हुनुपर्ने माग गरे ।
उनले सरकारमा कांग्रेस भए जस्तो नभएको भन्दै अनियमितता र भ्रष्टाचार बढेको बताए । थापाले एनसेल घोटालामा ठूलै व्यक्तिहरू संलग्न भएको भन्दै छानविन गर्नुपर्नेमा जोड दिए । उनले अहिले कोही सिंहदरवार जलाउने र कोही राजतन्त्र ल्याउने भन्न थालेको भन्दै त्यस्ता अराजकहरूबाट यो व्यवस्था बचाउन र सुशासन कायम गर्न कांग्रेसले नेतृत्व गर्नुपर्ने बेला आएको बताएका छन् । नेता–कार्यकर्ताहरूलाई उनले अलमलमा नपर्न सुझाव दिँदै संघ, प्रदेश र स्थानीयमा जताततै कांग्रेस सरकारमा भए पनि भएजस्तो नभएकाले नागरिकको अवस्था परिवर्तन नभएको बताए ।
त्यस्तै नेता शेखर कोइरालाले सरकारको स्वामित्वमा आउन लागेको एनसेल बेचबिखनमा राज्यकै संलग्नता भएको बताउँदै आफूहरूले गम्भीररूपमा लिएको बताए । उनले राजनीतिज्ञ, कर्मचारी र व्यापारी मिलेर एनसेल घोटाला भएको दाबी गरे । सदन र सडकबाट यो विषयलाई जनता समक्ष लैजाने कोइरालाले बताए ।