राजनीति

व्यवस्थामाथि औंला उठाउनेविरुद्ध सबै मिलेर लड्नु पर्छ : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश कमजोर बनाउन खोज्नेविरुद्ध एमालेले निरन्तर खबरदारी गरिरहेको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको क्रममा रुकुमपूर्व पुगेका उनले अहिलेको व्यवस्थामाथि औंला उठाउने र देशलाई कमजोर बनाउन खोज्नेविरुद्ध एमालेले निरन्तर खबरदारी गरिरहेको बताएका हुन् । साथै उनले देशलाई असफल बनाउन खोज्ने देशभित्रका र देश बाहिर नेपालको अहित चाहने केही तत्वविरुद्ध सामूहिकरूपमा लड्नुपर्ने उनको भनाइ छ ।

‘सरकारका कारण धेरै समस्या आएका छन् । देश कमजोर बनाउन देशभित्रका र देश बाहिर रहेका केही तत्वहरु सक्रिय भएका छन्,’ उनले भने, ‘यो प्रणालीलाई ठूलो लगानी गरेर ल्याएका हौं, यसविरुद्ध हुने गतिविधि सबै मिलेर लड्नु पर्दछ ।’

सरकारले निरन्तर गलत काम गर्दै गइरहेकाले सबै नेपाली सचेत हुनुपर्ने समेत अध्यक्ष ओलीले बताए । ‘सबैतिर सरकारले गल्ती गर्दै गएको छ, अपराधी रोक्नुपर्ने अवस्था छ । तर, अपराधीलाई कारबाही गर्न सकिरहेको छैन । बल्लतल्ल समातिएका अपराधीहरु अनेक बहानामा छोडिएका छन्, न्यायालय र कर्मचारीलाई सरकारले हस्तक्षेप गरिरहेको छ, कर्मचारीमाथि हस्तक्षेप छ, राज्यको तर्फबाट यस्तो लज्जास्पद काम भइरहेका छन्’, उनको आरोप छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *