काठमाडौं । सरकारले पहिलोपटक खानेपानी महसुल निर्धारण आयोगमा सम्बन्धित क्षेत्रको विज्ञलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा रुद्रप्रसाद गौतमलाई नियुक्त गरेको हो।
गौतमलाई चार वर्षका लागि आयोगको अध्यक्षमा नियुक्त गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । गौतमले ३० वर्ष ललितपुर महानगरपालिकामा खानेपानी र सरसफाइको क्षेत्रमा काम गरेका थिए । उनले केही समयअघि मात्रै ललितपुर महानगरपालिकाबाट अवकाश पाएका थिए ।
हाल काठमाडौं उपत्यका मेयर्स फोरमको प्रमुख कार्यकारी अधिकृत गौतमले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा प्रबन्ध निर्देशनको रुपमा काम गरिसकेका छन् । खुला प्रतिस्पर्धाबाट उनले केयूकेएलमा दश वर्ष प्रबन्ध निर्देशकको काम गरेका छन् ।
इन्जिनियर गौतमले मेलम्ची खानेपानीको व्यवस्थापनको विषयमा पनि काम गरेका थिए । खानेपानी संस्थाले गरेको मूल्य प्रस्ताव र पानीको गुणस्तर हेरेर आयोगले मूल्य निर्धारण गर्ने गर्दछ ।