मुख्य समाचार

पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको सुनुवाइ आज

काठमाडौं । पोर्चुगलका लागि नेपाली राजदूतमा प्रस्तावित सनिल नेपालको संसदीय सुनुवाइ आज (शुक्रबार) हुँदैछ । मन्त्रिपरिषद्बाट २३ कात्तिकमा राजदूत सिफारिस नेपालविरुद्ध परेको उजुरीमा छलफल गरेर संसदीय सुनुवाइ समितिले शुक्रबार दिउँसो सुनुवाइ गर्ने निर्णय गरेको हो ।

समितिले बिहीबार प्रस्तावित राजदूत नेपालविरुद्ध परेको एउटा उजुरी खोलेर सांसदहरूलाई वितरण गरेको छ । उज्ज्वलकृष्ण श्रेष्ठले दिएको उजुरीमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाविपरीत भएको अनुपयुक्त सिफारिस अनुमोदन नगर्न माग गरिएको छ ।

उजुरीको पुस्ट्याइँ र औचित्यतता पुष्टि गर्न समितिले शुक्रबारै उजुरीकर्ता श्रेष्ठलाई बोलाएको छ । उनीसँग छलफल गरिसकेपछि समितिले प्रस्तावित राजदूत नेपालको सुनुवाइ सुरु गर्नेछ । पोर्चुगलमा दूतावास खोल्ने र राजदूत पठाउने निर्णयबारे स्पष्ट पार्न समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएको छ ।

शुक्रबार साढे २ बजे बस्ने बैठकमा दूतावास खोल्ने निर्णयबारे जानकारी गराउन मन्त्री साउदलाई आमन्त्रण गरिएको समिति सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *