शिक्षा / स्वास्थ्य

उपकुलपतिमा नक्कली प्राध्यापकले दिएको आवेदन खारेज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका एक जनाको उम्मेदवारी खारेज भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार उपकुलपति सिफारिस तथा छनोट समितिमा ४३ जनाको आवेदन परेको थियो । आवेदन परेकामध्ये एक जना नक्कली प्राध्यापक भएको पाइएपछि आवेदन खारेज गरिएको हो ।

एकराज ओझा प्राध्यापक नरहेको पाइएपछि उनको आवेदन रद्ध गरिएको सचिव अधिकारीले जानकारी दिए । सोमबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा सचिव अधिकारीले उनको आवेदन खारेज गरिएको जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाको आवेदनमा ४१ जना पुरूष र २ जना महिला थिए । तर, ओझाको आवेदन खारेज गरेपछि ४२ जनाको नाम मात्रै सार्वजनिक गरिएको उनले बताए ।

सचिव अधिकारीका अनुसार ४२ जनामध्येबाट १४ जनाको नाम सर्टलिष्टमा परेको छ । सर्टलिष्टमा परेकाहरू १४ जनाको सोमबारदेखि प्रस्तुतीकरण सुरू भएको छ । सोमबार सर्टलिष्टमा परेका ४ जनाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणको कार्यक्रम रहेको थियो । भोली फागुन १ गते ५ जनाको र फागुन २ गते ४ जनाको प्रस्तुतीकरण हुने र त्यसपछि अन्तवार्ता हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *