समाचार

राससका उत्कृष्ट पत्रकार र कर्मचारी पुरस्कृत

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले ६३ औँ वार्षिकोत्सवको अवसर पारेर आज उत्कृष्ट पत्रकार, कर्मचारीलाई पुरस्कृत गरेको छ । आज यहाँ आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकार र कर्मचारी गरी आठ जनालाई उक्त पुरस्कार प्रदान गरिन।

उत्कृष्ट सम्पादनतर्फ वरिष्ठ सम्पादक कृष्ण सापकोटा, उत्कृष्ट समाचार सङ्कलनतर्फ वरिष्ठ सहायक समाचारदाता अशोक घिमिरे र उत्कृष्ट कर्मचारीतर्फ उपव्यवस्थापक राजेशकुमार श्रेष्ठ पुरस्कृत भएका छन ।

उत्कृष्ट फोटो तथा श्रव्यदृश्यतर्फ सुरेश आचार्य (सुर्खेत) उत्कृष्ट आलेखतर्फ रामविकास चौधरी (रुपन्देही) तथा उत्कृष्ट जिल्ला समाचारदातातर्फ रुपनी जिएम (बाँके), मनोज दाहाल (मोरङ) र निरञ्जनकुमार साह (धनुषा) ले पुरस्कार प्राप्त गरे। उक्त पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।

मन्त्री शर्माले राससको सेवाग्राहीमध्येबाट रेडियो नेपाल, रातोपाटी अनलाइन र प्रतीक दैनिक (वीरन्गज) लाई सम्मान प्रदान गरिन। ती सञ्चारमाध्यमले राससको समाचार प्रकाशन तथा प्रसारण गर्ने क्रममा ‘क्रेडिट’ दिएका कारण सम्मान गरिएको रासस व्यवस्थापनले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *