देश

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा : प्रधानमन्त्री

काठमाडौं।प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रश्तुत हुने अन्तिम चरणमा पुगेको बताएका छन्। शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर संसदमा प्रश्तुत गर्ने तयारीमा रहेको बताए। उनले सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने बताए।

उनले संक्रमणकालीन न्यायसम्बन्धी सत्यनिरूपण तथा बेपत्ता छानविन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन नसकेको बताए।

उनले भने, ‘आज हामी बलिदान दिवस मनाउँदै गर्दा हाम्रा ती महान् शहीद र बेपत्ता योद्धाहरुलाई राज्यको तर्फबाट सम्मान गर्ने प्रक्रियाको एउटा ठूलो ढोका खुलेको छ। तर फेरि अझै शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले। खासगरी संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएको हुनाले सबै शहीद परिवारले पाउनुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट उनीहरुको नाममा, उनीहरुको बालबच्चालाई रोजगारी विधेयकमा राखेका छौँ। धेरैलाई थाहा होला। त्यो विधेयक अब सदनमा पारित हुने अन्तिम चरणमा छ। सदनमा प्रश्तुत भएर एउटा उपसमितिबाट पारित भएर आज बैठक बसेको छ। त्यहाँबाट मिति तोकिन्छ। ५ दिन भित्रमा समितिबाट टुंग्याउने र सदनबाट पारित गर्ने त्यो पारित भएपछि सबैको निम्ति बलिदान गरेका योद्धाप्रति गर्व हुनेछ।’

प्रधानमन्त्री दाहालले जनयुद्ध दिवस शान्ति प्रक्रिया पूरै टुंग्याएपछि पुनः मनाइने र बिदा दिइने दाबी गरे। उनले शान्ति प्रक्रियाका बाँकी काम नटुंगिएकै कारण अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा दिन अस्वीकार गरेको बताए।

प्रधानमन्त्री दाहालले अदालतले बिदा नदिए पनि आफूहरुले जनयुद्ध दिवस मनाएको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *