देश

विकास माग्न जाजरकोटी काठमाडौंमा : ठेकेदारलाई कारबाही गरिदिन प्रधानमन्त्रीलाई बिन्ती

सुर्खेत । जाजरकोटमा भएका विकास निर्माणको काम लथालिङ्ग अवस्थालाई गति दिनका लागि जाजरकोटका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हारागुहार गरेका छन् । पूर्वमन्त्री गणेशप्रसाद सिंहलगायतका नेताहरु बालुवाटार पुगेर प्रधानमन्त्रीलाई जिल्लाको अवस्था लथालिङ्ग भएको भन्दै तत्काल ध्यान दिन माग गरेका छन् ।

भूकम्पबाट पीडित बनेका जाजरकोटबासीलाई तत्काल उचित व्यवस्थापनदेखि अन्य दर्जन माग लिएर जाजरकोटीले प्रधानमन्त्री प्रचण्डको ध्यानाक्रषण गराएका हुन् । जिल्लामा भेरी करिडोरमा क्याराभानले लथालिङ्ग बनाएका मोटरेबल पुल, पुष्पलाल मध्यपहाडी लोक मार्गको १२ वर्षदेखि अलपत्र परेको मन्ताभिरलगायत अन्य सडक खण्ड, लुम्बिनी–रारा सडक खण्डको जाजरकोटभित्र पर्ने सडकको विजोग अवस्थादेखि जाजरकोट जुम्ला सुरुङ मार्गको काममा भएको ढिला सुस्तीका विषयमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाक्रषण गराएको छ ।

नलगाड जलविद्युत आयोजनालाई यसै आर्थिक वर्षमा जसरी पनि निर्माण चरणमा लिनुपर्ने, भूकम्पपीडितका घर निर्माण गर्न कम्तिमा १० लाख भन्दा माथि उपलब्ध गराउनु पर्ने पत्रमा उल्लेख छ । ठेक्का लिने तर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरी छिटो भन्दा छिटो काम गर्नुपर्ने उक्त जाजरकोटकी टोलीको माग रहेको छ । भेरी करिडोर भित्रको ५६ किलोमिटरमा कालोपत्रको लागि काम भए पनि बाँकी ६२ किलोमिटरमा बोलपत्र गर्नका लागि बजेट नहुँदा भएको समस्यलाई समेत भारी मात्रामा उठाएको छ ।

पश्चिम जाजरकोटको छेडा– चाँदे हुँदै जुम्ला जोडने सडकको स्तरोन्न्तीको काम रोखिएकाले तत्काल बजेटको व्यवस्था गर्न माग गरिएको छ । खलंगा बोहरा हुँदै– बहुप्राविद्यिक शिक्षालय काफलचौर सम्मको ठेक्का लागे पनि बजेट अभावले काम हुन नसकेको भन्दै तत्काल बजेटको व्यवस्थापन गर्न माग पत्रमा उल्लेख गरिएको छ । नलगाड नगरपालिकाले आफ्नो पालिकाभित्र दर्जन पुलहरु अलपत्र भएकाले निर्माण व्यवसायीलाई तत्काल काममा फर्कन वा कारबाही गर्न माग गरिएको पत्र समेत प्रधानमन्त्रीलाई बुझाएको छ । जिल्लामा प्रदेश तथा संघ सरकारले निर्माण गरेका ८० प्रतिशत योजनाहरु लथालिङ्ग भएकाले तत्काल निर्माण व्यवसायीलाई कारबाही गर्न समेत माग गरिएको छ ।

नलगाड जलविद्युत आयोजनाको पुल समेत ९ वर्ष देखि अलपत्र हुँदै आएको छ । भेरी नदीमा आधा दर्जन पुलहरु ६ वर्ष देखि अलपत्र हुँदै आएका छन् । विकास निर्माणको काम लथालिङ्ग बनाउने जोसुकै भए पनि कारबाही गरेर जिल्लाको विकास निर्माणमा गति दिन समेत आग्रह गरिएको पूर्वमन्त्री सिंहले बताए । ठेक्का लिएर वषौँ सम्म काम नगरी पेश्की लिएर बेपत्ता हुने निर्माण व्यवसायीलाई तत्काल उचित कदम चाल्न समेत माग गरिएको छ । जिल्लामा धेरै पटक विकास निर्माणको काममा बिलम्ब नगर्न आग्रह गरे पनि निर्माण व्यवसायीबाट त्यसको कुनै पनि रिसपन्स नहुँदा जाजरकोटको टोल प्रधानमन्त्रीलाई नै ध्यानाक्रषण गराउन काठमाडौँ पुगेको हो । भूकम्पमा परी क्षत–विक्षत भएको समयमा सबै खालका कामहरु होल्ड गर्दा जिल्ला पछाडि परेको समेत माग पत्रमा उल्लेख गरिएको छ ।

कोहलपुरदेखि सुर्खेतसम्म मात्र निर्माण हुन लागेको १३२ केभी प्रशारण लाइन जाजरकोटसम्म पुर्‍याउनु पर्ने समेत उनीहरुको माग रहेको छ । डोल्पामा निर्माण हुने जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटलाई समेत सहयोग पुग्ने भएकाले सो प्रशारण लाइन जाजरकोटसम्म तत्काल जोडनुपर्ने उनीको भनाई छ । ४०० केभी प्रशारण लाइनको दानी पिपलमा निर्माण हुने भनिएको सव स्टेशनको काम रोखिएको भन्दै तत्काल सो भेरी करिडोरको प्रशारण लाइनलाई निर्माण चरणमा लिन आग्रह गरिएको छ । १५० किलोमिटर लामो प्रशारण लाइनको काम तत्काल थाल्न माग पत्रमा उल्लेख छ ।

माग पत्र बुझाउन उर्जामन्त्री शक्तिबहादुर बस्नेत, पत्रकार प्रभात चलाउने, नलगाडका नगर प्रमुख डम्वर रावत, पूर्व मेयर टेकबहादुर रावल, पूर्व जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटि सदस्य कालीबहादुर मल्ल लगायका नेताहरु बालुवाटार पुगेका थिए । सधै बालुवाटारको वरिपरी रहने तर जिल्लाको विकास निर्माणको कुरालाई ध्यान नदिएको भन्दै जिल्लाका दलका नेतृत्वको आलोचना समेत हुने गरेको छ । हाल जिल्लाबाट उर्जामन्त्री बस्नेत, कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, प्रदेशसभा सदस्य राजीवविक्रम शाह, राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्मा, केही दिन अघिसम्म प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार रामदिप आचार्य रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *