काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरू मिल्नुपर्ने बताएका छन् ।
आज (शनिबार) काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरूले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रुपबाट प्रहार भइरहेको टिप्पणी गरे । उनले सबै राजनीतिक दलहरू मिलेर नगएसम्म उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न नसकिने बताए । महामन्त्री थापाले राजनीतिक दलहरू आरोप प्रत्यारोपमा उत्रिँदा प्राप्त उपलब्धिमाथि भइरहेको आक्रमण रोक्न ध्यान नपुगेको उल्लेख गरे ।
उनले सबै राजनीतिक दल र नेताहरूले मिलेर कसरी प्राप्त उपलब्धिको रक्षार्थ खट्ने भन्नेबारेमा छलफल गर्न जरुरी रहेको बताए । महामन्त्री थापाले प्रेस स्वतन्त्रताको कुरा गर्दैगर्दा समाजलाई पर्ने प्रभावका बारेमा सोचेर लेख्नुपर्ने बताए । सञ्चारमाध्यमले प्राप्त गरेको अधिकारको दुरुपयोग भएको कुरालाई रोक्नुपर्ने कुरामा विशेष जोड दिन आवश्यक रहेको बतए ।