काठमाडौं।नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालले आयोजना गरेको केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् ।
ललितपुरको एन्फा मैदानमा हुने पहिलो खेलमा एनआरटी र थ्रीस्टार क्लब आमने सामने हुने छन् । एनआरटी र थ्रीस्टारबीचको खेल बिहान साढे ११ बजेदेखि सुरु हुनेछ। यो खेलको विजेता सेमिफाइनलमा प्रवेश गर्ने छ ।
यसैगरी आजै हुने दोस्रो खेल विभागीय डर्वी हुने छ । जसमा त्रिभुवन आर्मी र नेपाल पुलिस आमने सामने हुने छन् । आर्मी र पुलिसबीचको खेल दिउँसो ३ बजेदेखि एन्फा मैदानमै खेलाइने छ । पुलिस र आर्मीको विजेताले सेमिफाइनल प्रवेशका लागि मच्छिन्द्र क्लबसँग खेल्ने छ ।
शुक्रबार भएको उद्घाटन खेलमा आयोजक टोलीले ए डिभिजन लिग विजेता क्लब चर्च ब्वाइजलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । अब सेमिफाइनल प्रवेशका लागि आयोजक टोलीले जावलाखेल युथ क्लबसँग खेल्ने छ ।
प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात वटा टिम सहभागी छन् ।
ओली कपमा दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लब र आयोजक गरी कुल १० टिमबीच प्रतिस्पर्धा सुरु भएको छ ।
विजेता टिमले ११ लाख र दोस्रो हुनेले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । फाइनल खेल फागुन १९ गते हुनेछ ।