काठमाडौँ । भारतीय अर्थोपेडिक एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक सर्जन प्रा डा राजीव के शर्माले हाडजोर्नीसम्बन्धी रोगको उपचार अब सरल एवं सामान्य हुँदै गएको बताएका छन् ।
नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् (एम्स), एपोलो हस्पिटल नयाँदिल्लीलगायतमा हाडजोर्नीसम्बन्धी फ्याकल्टी तथा सर्जनका रुपमा समेत काम गरिसकेका प्रा डा शर्मा अर्थोपेडिक सर्जनहरुको एक ‘कन्फ्रेन्स्’ का लागि हालै काठमाडौँ आएका बेला हामीले यस विषयमा जिज्ञासा राखेका थियौँ ।
कुराकानीकाक्रममा उाले भने, “मानवीय हाडजोर्नी तथा हड्डीसम्बन्धी रोगको उपचार अब पहिलेजस्तो जटिल छैन, सामान्य हुँदै गएको छ । अहिले शरीरका हाडजोर्नी, घुँडाको अत्याधुनिक मेडिकल प्रविधि प्रयोग गरेर सफल प्रत्यारोपण (ट्रान्सप्लान्ट) गर्न या फेर्न (रिप्लेस्मेन्ट) सकिन्छ । मेडिकल अनुसन्धान तथा प्रविधिले धेरै कुरा सफल र सम्भव तुल्याइदिएको छ ।
ज्वाइन्ट रिप्लेस्मेन्ट सर्जन डा शर्माले केही वर्षअघि ९४ वर्षीय वृद्धको हिप प्रत्यारोपण गरेको प्रसङ्ग सुनाउँदै भने, “बालबालिका र यो उमेरका वृद्धवृद्धामा पनि ज्वाइन्ट रिप्लेस्मेन्ट हामीले गरिरहेका छौँ, हामी सफल भइरहेका छौँ, जटिलता देखिएको छैन । पहिला त यो उमेरका बिरामीमा प्रत्यारोपण गरौँ कि नगरौँ भन्ने पनि भयो । बिरामीको पनि गरिदिए हुन्थ्यो भन्ने चाहना थियो । मैले नै ‘रिप्लेस्मेन्ट’ गरेँ, सफल पनि भयो । वर्षौंसम्म आफैँले फलोअप गरेँ । ‘रिप्लेस’ गरिएको अङ्गमा कुनै समस्या आएन, ठीक रहनुभयो । म पनि निकै खुसी भएँ ।”
पहिले यस्ता समस्याहरु शल्यक्रिया गरेर निको पार्ने प्रयास गरिन्थ्यो । त्योभन्दा अहिलेको यो रिप्लेस्मेन्ट या प्रत्यारोपण ‘एड्भान्स’ हुँदै गयो, यो ठीक भएको छ । उनको आशय थियो अहिले बालबालिकादेखि वृद्धवृद्धाहरुसम्म पनि जोर्नी प्रत्यारोपण सम्भव मात्र होइन सामान्य हुँदै गएको छ । मानिसहरु प्रत्यारोपणका लागि तयार भए भने मेडिकल प्रविधि चुस्त दुरुस्त छ । मात्र चिकित्सकको दक्ष हात चाहिन्छ ।
तर मानिसहरु अझै पनि अङ्ग प्रत्यारोपण गर्ने काममा आशङ्का गर्ने गरेको आफूले पाएको उनको भनाइ छ । “मानिसहरु अहिले पनि प्रत्यारोपण गर्ने अर्थात् कुनै पनि अङ्ग फेर्ने काम सफल हुँदैन कि भन्ने सोच्ने गर्दछन् । त्यसैले उनीहरु सुरुमा त तयार पनि हुँदैनन्”, प्रा डा शर्मा भन्छन्, “अङ्गको प्रत्यारोपणपछि सङ्क्रमण हुन्छ या जटिलता उत्पन्न हुन्छ भन्ने मानिसहरु बताउने गर्दछन् । तर त्यसो नभएर अहिले यस क्षेत्रमा धेरै सफलता प्राप्त भइरहेको छ । त्यसप्रति आमनागरिकमा सचेतनाको आवश्यकता मैले देखेको छु ।”
त्यस्तै दुखाई बढी हुने, यसरी प्रत्यारोपण गरिएको अङ्गको दिगोपना कम हुने अर्थात् पटक–पटक प्रत्यारोपण गर्नुपर्ने अवस्था पनि आउनसक्ने तर्क गर्ने गरेका कारण मानिसहरु जोर्नी प्रत्यारोपणका लागि तयार नहुने गरेको आफूले पाएको उनको भनाइ छ । पछिल्लो समयमा निकै ‘एड्भान्स’ प्रविधि आएकाले ती प्रविधिको प्रयोग गरेर कुनै पनि दक्ष चिकित्सकले नदुखाई र सफलरुपमै जोर्नी प्रत्यारोपण गर्न सक्ने उनी बताउँछन् ।
हाल मुलचन्द हस्पिटल नयाँ दिल्लीमा ज्वाइन्ट रिप्लेस्मेन्ट विज्ञका रुपमा कार्यरत उनले आफूसँग हाडजोर्नीसम्बन्धी समस्या लिएर आउने कुनै पनि बिरामी निको नभई नफर्कने दाबी गर्छन् । जोर्नी प्रत्यारोपण गरिएका बिरामीलाई आफूले २० वर्षसम्म नै ‘फलो’ गरेको र उनीहरुमा कुनै समस्या नदेखिएको पनि उनको भनाइ छ ।
सुनिन्छ, हिजोआज मानिसका हाड कमजोर हुँदै गएका छन् । सानातिना ठाउँबाट सामान्य लड्दा पनि हाड भाँचिने गरेको सुनिन्छ, यस्तो किन हुन्छ ? हाम्रो प्रश्नमा उनको उत्तर छ “मानिसहरु दिनप्रतिदिन आफैँले आफ्ना हाड कमजोर बनाइरहेका छन् ।”
कसरी ? उनी भन्छन्, “पहिलो कुरा त खानपिन नै हो । मानिसमा पछिल्लो समय मीठो अर्थात् स्वादिलोमात्र खान खोज्ने र सुख अर्थात आरामदायी जीवनको खोजीका कारण उसको शरीर नै रोगको घर बनिरहेको छ । हाड र जोर्नीमा पनि यो लागू भैहाल्छ । मानिसको आफ्नै आनिबानी र खानपिनले हड्डी कमजोर हुँदै गएको देखेका छौँ । पछिल्लो समय यो अवस्था झन् बढ्दो छ ।”
धेरै खाना र बजारीया अस्वस्थकर खाना (जङ्क फुड तथा फास्ट फुड) ले शरीरमा धरै प्रकारका रोग भित्र्याएपछि त्यसले पनि हाडलाई कमजोर पारेको उनको भनाइ छ । मानिसमा पछिल्लो समय बढ्दो मोटोपनाले पनि हाडलाई कमजोर बनाएको र हाडजोर्नीमा समस्या देखिने गरेको उनी बताउँछन् ।
शरीरमा बढ्दो मासुको भार पनि हाडले नै बोक्नु परेको छ । मोटोपनको भार शरीरको हाडमा परेको छ र यसले पनि हाड कमजोर बनाउँदै गएको छ । जस्तो कि शरीरमा अत्यधिक मोटोपन छ भने शरीरको त्यो वजनको भार घुँडाले धान्नुपर्दछ । यसले शरीरको भार बढाइरहेको छ र हाडलाई कमजोर बनाइरहेको छ ।
शर्मा भन्छन्, “मानिसमा शारीरिक व्यायामको कमी हुँदै गएको छ र ‘टेबल वर्क कल्चर’ बढ्दो छ । यसरी मानिसको शरीरका हाडहरु खुम्चिएर रहनुपरिरहेको अवस्था छ । शरीर चलायमान हुन सकेन र हाडलाई आवश्यक अभ्यास पुगेन । यसकारण पनि हाड कमजोर बन्दै गएको छ । त्यसैगरी आवश्यक पोषण एवं क्याल्सियमको कमीले पनि मानिसका हड्डी कमजोर बनाएको छ ।
अनि मानिसहरु व्यस्तताका कारण घाममा बस्न छोडिसकेका छन् । यी सब भारतका मात्र नभएर नेपाल तथा समग्र दक्षिण एसियाकै साझा समस्यामा पर्दछन् । यस्तै कारणले नै मानिसको शरीर र शरीरसँगै उसका हड्डी र जोर्नीहरु कमजोर बन्दै गएका छन् ।
उनका अनुसार धुमपान हाड कमजोर पार्ने अर्को प्रमुख कारण बनेको छ । त्यसैगरी पछिल्लो समय व्यायामशाला जाने प्रचलन जुन सुरु भएको छ, यो पनि हाडजोर्नीका लागि स्वस्थकर नभएको उनको भनाइ छ । “शरीरको हाड र जोर्नीका लागि सबैभन्दा राम्रो व्यायाम त ‘साइक्लिङ’ र ‘स्वीमिङ’ हो, यो ‘जिम कल्चर’ पनि त्यति राम्रो होइन”, उनले भने ।
हाडजोर्नीसम्बन्धी रोगको निदानका उपाय के होलान् त ? उनको सुझाव छ, “सरकारहरुले हाडजोर्नीसम्बन्धी रोगको उपचारलाई सबै सर्वसाधारणको पहुँचसम्म पुग्नेगरी विस्तार गर्नुपर्छ । नागरिकको स्वास्थ्य बीमामार्फत कार्डको व्यवस्था गर्नु राम्रो हुन्छ । भारतमा वर्षमा निश्चित रकमको उपचार कार्ड नागरिकलाई दिइएको छ ।
नेपाललगायतका देशका सरकारले पनि यस्तो व्यवस्था गर्न सक्छन् । योभन्दा पनि महत्वपूर्ण त शिक्षा हो । शिक्षाका माध्यमबाट हाडजोर्नीसम्बन्धी रोग निदानको नीति अख्तियार गर्न सकिन्छ । यससम्बन्धी शिक्षा र पछिल्लो समयमा विकसित प्रविधि र उपचार विधिका विषयमा तालिमलगायतका कार्यक्रममा लगानी गरेर दक्ष जनशक्ति उत्पादन गर्नु आवश्यक छ । हाडजोर्नीसम्बन्धी रोग र यसबारे नागरिकमा आवश्यक चेतना जागृत गराउनु पनि आवश्यक छ ।”
भारतका एक प्रतिष्ठित चिकित्सकका छोरा डा शर्मा अर्थोको एम एस अध्ययनमा स्वर्णपदक प्राप्त हुन् । अर्थोपेडिक क्षेत्रमा ३२ वर्षको अनुभव सङ्गालेका उनले अहिलेसम्म १५ हजारभन्दा बढी जोर्नी प्रत्यारोपण गरिसकेका छन् । उनी उत्तरी भारतमा घुँडाको ‘कम्प्युटर नेभिगेटेड अर्थोप्लास्टी’ गर्ने पहिलो चिकित्सक पनि हुन् । सन् २००५ मा उनले कम्प्युटरको माध्यमबाट घुँडाको सो उपचार गरेका थिए । उनले करिब एक हजार घुँडाको अर्थोप्लास्टी गरेका छन् भने घुँडामात्र तीन हजार प्रत्यारोपण गरेका छन् ।
नेपालका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको हिपको प्रत्यारोपण पनि उनले नै गरेका थिए । क्यान्सरका कारण हिपमा समस्या देखिएपछि पूर्वराष्ट्रपति भण्डारीको हिप प्रत्यारोपण गरिएको थियो ।
डा शर्मा नेपालमा हाडजोर्नीसम्बन्धी उपचारका पनि सहयोगी हुन् । जोरपाटीस्थित अर्थोपेडिक अस्पतालका मेडिकल डाइरेक्टर डा कैलाश भण्डारीका अनुसार डा शर्माले सो अस्पताललाई समय समयमा सहयोग गर्दै आएका छन् । सो अस्पतालका साथै नेपालका यस क्षेत्रका चिकित्सकहरुलाई उनले विकसित पछिल्लो प्रविधि र उपचार विधिबारे तालिम प्रदान गर्दै आएका छन् । त्यसैले नेपाल सरकारले उनलाई केही वर्षअघि नेपालका सहयोगी एवं ख्यातिप्राप्त विदेशी नागरिकलाई प्रदान गरिने जनसेवाश्री पदकबाट सम्मान गरेको थियो ।
विश्वका विभिन्न देशमा भिजिटिङ प्रोफेसरका रुपमा आफ्ना अनुभवहरु प्रस्तुत गर्दै आएका डा शर्मा नेपालमा शिक्षा र चेतनाको स्तर बढेको देख्छन् । “धेरै वर्षदेखि म नेपाल आइरहेको छु । यहाँ शिक्षाको विकास उल्लेखनीय छ । नेपाली नागरिकमा बढ्दो शैक्षिक र चेतनाको स्तर प्रशंसनीय छ । यस कुराले मलाई खुसी लाग्छ । यो देश र यहाँका नागरिकको भविष्य राम्रो छ”, उनी भन्छन् ।