मुख्य समाचार

राष्ट्रियसभा अध्यक्षका लागि माओवादी केन्द्रभित्रै हानथाप


काठमाडौं । राष्ट्रियसभा अध्यक्षका लागि माओवादी केन्द्रले औपचारिक रूपमै दावी नछोड्ने बताएपछि माओवादी केन्द्रभित्र भने अध्यक्षका आकांक्षीको संख्या थपिन थालेको खबर छ।

परिस्थिति फेरिएको भन्दै माओवादी केन्द्रले पूर्वसहमति अनुसार अध्यक्ष कांग्रेसलाई दिन नसकिने बताएको छ । त्यसैले माओवादीले दावी गरिरहेको बेलामा एमालेले साथ दिने संकेत गरेको छ ।

एमालेले साथ दिएमा राष्ट्रियसभामा सबैभन्दा ठूलो दल रहेको माओवादी केन्द्रको उम्मेदवारले चुनाव जित्ने संभावना रहन्छ । जितिने चुनाव भएकाले आकांक्षीहरु धेरै भएको माओवादी नेताहरुले बताएका छन्।


राष्टियसभा अध्यक्षका लागि दीनानाथ शर्मा आकांक्षी हुने अवस्था भने नरहेको स्राेत बताउछ । उनको कार्यकाल २०८० फागुन गते  सकिने भएकाले उनी आकांक्षीको दौडबाट बाहिरिएका छन् । त्यसपछि अध्यक्षका लागि अहिलेकै उपाध्यक्ष उर्मिला अर्याल पहिलो दावेदारको रुपमा देखिएकी छिन् ।

 भागवण्डा गर्दा अध्यक्ष माओवादीले लिने हुँदा उपाध्यक्ष अर्को दलले लिनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा उपाध्यक्ष अर्यालले उपाध्यक्षबाट राजीनामा दिनुपर्छ । उनी राजीनामा दिएर पद अर्काे कुनै दल वा (एमाले)लाई सुम्पिने हो भने अध्यक्ष पाउनुपर्ने दावीमा छिन् ।


  त्यसैले उपाध्यक्ष पदबाट राजीनामा गराएर अध्यक्ष अरुलाई दिने कुरामा अर्याल सहमत नभए स्वतः अध्यक्षको उम्मेदवार हुनेछिन् । अर्यालबाहेक प्रधानमन्त्री प्रचण्डका भाई नारायण दाहाल पनि दावेदार देखिएका छन् । प्रचण्डमा देखिएको परिवार मोहका कारण उनको दावीलाई पनि कमजोर मानिएको छैन ।


  विवाद र असन्तुष्टिका बाबजुद प्रचण्डले नारायण दाहाललाई राष्ट्रियसभामा ल्याएका थिए । त्यसैले, अहिले पनि उनी अध्यक्षको दावेदार रहँदा असन्तुष्टि भने पोखिने संभावना रहेको छ ।


   त्यसैगरी, अर्को दावेदारमा झक्कु सुवेदी रहेका छन् । उनी भर्खर राष्ट्रियसभामा छिरेका हुन् । माओवादीभित्रका चर्चित नेता सुवेदीको पछिल्लो राजनीतिक जीवन भने फलदायी हुन सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट