शिक्षा / स्वास्थ्य

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका शिक्षामा अब्बल

काठमाडौं । मुलुकभरका सरकारी विद्यायलयहरुमा हेलम्बु गाउँपालिका अग्रणी नतिजा ल्याउन सफल भएको छ । शिक्षामा आँफूलाई अब्बल बनाउन गाउँपालिकाले निकै मेहनत गरेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । हेलम्बु गाउँपालिकाले स्थानीय तहमा शिक्षाको गुणस्तर सुधारमा छुट्टै पहिचान बनाउँदै कक्षा ८ को पालिका स्तरीय वार्षिक परिक्षामा उत्कृष्ट नतिजा निकालेको छ । हेलम्बु गाउँपालिकाले कक्षा ८ को परिक्षामा ७९.८० प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ । गाउँपालिका शिक्षा शाखाका अनुसार हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका १२ वटा पालिका मध्येकै राम्रो नतिजा ल्याउने पालिकामा चिनिएको हो ।

हेलम्बु गाउँपालिकाले २ संस्थागत विद्यालयसहित १५ वटा सरकारी विद्यालयका ३ सय १२ जना विद्यार्थी सहभागी भएकोमा २४९ जना विद्यार्थी उतिर्ण भई कुल संख्याको ७९.८० प्रतिशत उतिर्ण भएको जनाएको छ । शिक्षा शाखाले दिएकाे अन्तिम नतिजा अनुसार ५६ जना विद्यार्थीले ग्रेट वृद्धि परिक्षा दिन पाउने भएका छन् भने २ भन्दा बढी विषय लाग्ने ७ जना मात्र विद्यार्थी रहेका छन् ।

गाउँपालिकाका अध्यक्ष शेर्पाले भने, शिक्षामा गरेको लगानीको प्रतिफल देखिन सुरु भएको छ । अझै यसलाई सुधार गरेर लान गाउँपालिकाले आफ्नो स्रोत र साधनले भ्याएसम्मको कोशिस गर्ने प्रतिवद्धता शेर्पाले व्यक्त गरेका छन् । गत वर्षको तुलनामा हेलम्बु गाउँपालिकाको शिक्षामा उल्लेखनीय सुधार भएको छ । आगामी दिनमा अझ सुधार गर्दै शिक्षामा नेपालकै नमुना गाउँपालिका बनाउन आफू र पालिका लागि पर्ने बताउँदै अध्यक्ष शेर्पाले भने, यसका लागि शिक्षक, विद्यार्थी, अभिभावक, र कर्मचारी सबैको योगदान अपरिहार्य रहनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *