सम-सामयिक

गोरखापत्र र टेलिभिजनका कार्यकारी अध्यक्षलाई पदबाट नहटाउन सर्वोच्चबाट अन्तरिम आदेश

काठमाडौं । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहलाई स्पष्टीकरण सोधेर बर्खास्त गर्ने सरकारको तयारीमा रोक लगाउँदै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र साराङ्गा सुवेदीको संयुक्त इजालसले सुवेदी र शाहलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो । सत्ता गठबन्धन परिवर्तन हुनसाथ दुवैजनालाई हटाउने योजनाअनुसार मन्त्रिपरिषदको निर्णयको आधारमा सफाइ मौका भन्दै स्पष्टीकरण सोधिएपछि सुवेदी र शाह दुवैजनाले सर्वोच्च अदालतमा उपयुक्त आदेशको माग गर्दै रिट दायार गरेका थिए ।

तोकिएको दुवै जनाको चार वर्षको पदावधि समाप्त नहुँदासम्म पदबाट हटाउने कुनै पनि काम कारबाही नगर्नका लागि सरकारको नाममा अन्तरिम आदेश जारी भएको छ ।

रिट निवेदक सुवेदी र शाहका पक्षबाट पूर्व कानुनमन्त्रीसमेत रहेको वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, वरिष्ठ अधिवक्ता डा विजय मिश्र, पूर्व महान्यायाधिवक्ता समेत रहेका अधिवक्ता खम्ब खातीलगायतले बहस गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *