देश

‘स्वस्थकर जीवनका लागि स्वस्थ वातावरण आवश्यक’

हेटौँडा। ज्येष्ठ नागरिकलाई उनीहरुको इच्छाअनुसार पारिवारिक वातावरणमा बस्न र रमाउन पाउने अवस्था सिर्जना गर्नु समाजका प्रत्येक नागरिकको दायित्व हो । ज्येष्ठ नागरिक विविध कारणले आफ्ना सन्तानसँग बस्न नसक्ने÷नपाउने अवस्था कहीँकसैले सिर्जना गर्नु हुँदैन । यदि त्यस्तो अवस्था आए समाज तथा राज्यले पारिवारिक वातावरणको महसुस गर्नेगरी टोलटोलमा ज्येष्ठ नागरिक केन्द्रित कार्यक्रम सञ्चालन गर्नु पर्दछ ।

घरपरिवारमा होस् वा वृद्ध आश्रमहरुमा होस्, ज्येष्ठ नागरिकका लागि स्वस्थ जीवनयापन गर्न स्वस्थकर खाना, शान्त र रमणीय वातावरणसहितको व्यवस्था बनाउनु आवश्यक हुन्छ ।

बागमती प्रदेश सांसद भारती पाठक स्वस्थकर जीवनका लागि स्वस्थ वातावरण आवश्यक पर्ने बताउँछन् । केही दिनअघि हेटौँडा उपमहानगरपालिका–२ स्थित ॐ वृद्धाश्रममा आश्रित आमाहरुसँगको भेटमा आश्रममा आश्रित आमाबुवालाई स्वस्थकर जीवनयापनका लागि स्वस्थ वातावरण प्रदान गर्न विशेष ध्यान दिनुपर्ने उनी बताउँछन् ।

सांसद पाठकले सकेसम्म आमाबुवालाई उनीहरुको इच्छाअनुसार पारिवारिक वातावरणमा बस्न र रमाउन पाउने अवस्था सबैले बताउनुपर्ने बताउँछन् । वातावरण नबनेको अवस्थामा राज्यले दायित्व बहन गर्नुपर्ने बताए । उनी आमाबुवालाई आफ्ना सन्तानसँग बस्दा मिल्ने खुसी प्रदान गर्नुपर्ने भन्दै सन्तानसँग बस्न नसक्नेरनपाउनेका लागि स्थानीय निकायले बुढेसकालको सहारा बन्ने किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँछन् ।

आश्रममा २४ जना आश्रित रहेको आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ बताउँछन् । आश्रममा दानबाट आएको खाद्यान्न प्रशस्त हुने गरेको भन्दै लत्ताकपडाका लागि आश्रमको सञ्चित कोषबाट खर्च गर्ने गरिएको उनी बताउँछन् ।

आश्रममा आश्रित सबै ज्येष्ठ नागरिकका लागि स्वस्थ खाना, रमणीय र सहयोगी वतावरण बनाइएको श्रेष्ठ भनाइ छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आश्रममा एक जना नर्सको दरबन्दी दिएकाले स्वास्थ्य उपचारको लागि सहज भएको उनी बताउँछन् । आश्रममा तीन जना आमाबुवाले आफैँ पकाएर खाने गरेको बताउँदै उनीहरुलाई पारिवारिक वातावरण प्रदान गर्न स्थानीयले सहयोग गरिरहेका छन् ।

“मेरो साथमा दुई लाख थियो । त्यसले सुगर र प्रेसरको उपचार गर्न भनेर छोराछोरीले लगे । सरकारले दिने भत्ता पनि मैले उनीहरुलाई बुझाउन पदथ्यो । भत्ता लिँदा बिस्कुट खान मन लाग्थ्यो, तर बिस्कुट सम्झँदा पनि मुखमा पानी निकालेर पिउन बाध्य थिएँ । जीवनमा भोकभोकै चक्कर लाग्दा पनि काम गर्नुपर्ने अवस्था आयो ।” यो भनाइ हेटौँडा उपमहानगरपालिका–२ स्थित ॐ वृद्धाश्रममा आश्रित ६८ वर्षीया चुनकुमारी बस्नेतको हो ।

बस्नेतको सानै उमेरमा विवाह भयो । घरको नजिकै माइती । व्यापारी श्रीमान्सँग उहाँको जीवन खुसीसाथ चलिरहेको थियो । श्रीमान्को मृत्युपछि परनिर्भर जीवन बिताउन बाध्य भएको उनले बताए । सन्तान नजन्मिएपछि दिदीबहिनीका छोराछोरीलाई आफ्नै सन्तान जसरी नै माया गरेर आफ्नो सबै कुरा सुम्पिएको उनको भनाइ छ ।

तत्कालीन समयमा श्रीमान्को कमाइ प्रशस्तै हुने गरेको बस्नेतले सुनाए । खसीबोकाको व्यापार रहेकाले आफ्नो काम बजार लैजान र ल्याइएका खसीबोकालाई घाँस खुवाउने मात्र रहेको उनले स्मरण गरे । आम्दानी राम्रो भएकाले पनि आफूलाई थप काम गर्नुपर्ने अवस्था नआएको उनको भनाइ छ ।

आम्दानीको केही रकम उनले आफ्ना दिदीबहिनीका सन्तानको लागि खर्च गर्ने गर्थे । पहिला ती छोराछोरीले पनि ‘हामी छौँ’ भन्ने गरेका बस्नेतले बताए । उनलाई बज्रपात त तेतिबेला भयो जतिबेला ती छोराछोरीले खाना नदिएर काम लगाउन थाले । उनलाई कामको भन्दा पनि वचनले धेरै घोच्न थाल्यो ।

दिदीबहिनीका १२ सन्तानलाई बस्नेतले आफ्नो सन्तान सरह मायाममता दिए । त्यसको बदला कहिल्यै केही आशा राखेनन् । श्रीमान्को देहान्तपछि साहराविहीन भएकी बस्नेतले आफूसँग भएको सम्पत्ति पनि ती सन्तानलाई दिएमा आफ्नो लालनपालन हुने सोंचेका थिए ।

उनको छोरापर्ने हाल हेटौँडा–९ निवासी आफ्न्तले पालनपोषण गर्ने आश्वासन दिएर घर जग्गा आफ्नो नाममा राजिनामा पास गर्न लगाएपछि बस्नेतले सहजै गरिदिए । घर दिएको केही समयपछि छोराले बोलचाल नै बन्द गरिदिएको उनले सुनाए । त्यसपछि आफूसँग भएको नगदसहित उनी बहिनीको छोरीको घरमा आश्रय लिन पुगे ।

आफू सक्षम रहँदा अत्यधिक माया गर्ने छोरीले सम्पत्ति सहिँदै जान र वृद्ध हुन थालेपछि व्यवहारमा परिवर्तन गर्न थालेको बस्नेतले सम्झे । गहभरि आँसुधारा बगाउँदै उनले भने, “केही दिनपछि छोरीले काम नगरे खान नदिने भनिन् । मेरो खुट्टा नचल्ने भएको थियो, त्यस्तो अवस्थामा पनि ममाथि उनलाई दया लागेन र भाँडा माझ्न, बढार्न सकिन्छ भन्दै झर्कीफर्की गर्न लागिन् ।”

बस्नेतले लामो सास फेर्दै थपे, “मेरो घरको सरसमानसहितको नगद उसैलाई बुझाएकी थिएँ । निस्केर कहाँ जानु, रुँदैरुँदै काम गर्न थालेँ । आफूसँग दुई लाख थियो, उपचार गर्न भनेर लगिन् । वृद्धभत्ता पनि उनैलाई बुझाउने गरेकी थिएँ ।” हरेक महिना भत्ता लिँदा बिस्कुट खान पाउने आश लागे पनि एक पनि आफ्नो हातमा नपर्ने उनले सुनाए ।

त्यसपछि सहन नसकेर आफ्नो घर भएको स्थानमा फर्किएपछि खानाका लागि मेलापात जाने र घाँस काट्ने काम सुरु गरेको बस्नेतले बताए । स्वास्थ्यले साथ दिन छोडेपछि वडा कार्यालय गएर ‘मलाई जे गर्नु छ गर’ भनेर रुदाँ वडाले आश्रमसम्म पठाएको उनले जानकारी दिए ।

बस्नेतले ४२ वर्षको उमेर श्रीमान् गुमाएपछिको कहालिलाग्दो जीवन कुनैपनि छोरीले भौन्न नपरोस् भन्दै रुन्छन् । आफ्नो खुट्टामा नउभिएकाले नै श्रीमान् रहँदा राम्रो रहेको जीवनशैली श्रीमान्को मृत्युपछि बेवारिसे बन्न पुगेको उनले बताए । उनलाई अहिले जीवनमा आफ्ना आफन्त र सम्पत्तिभन्दा पनि सीप र एक्लै बाँच्न सक्ने हिम्मत हुनु ठुलो कुरा लाग्ने गरेको बताए । हरेक छोरीलाई गृहिणी होइन आफ्नो जिवन धान्न सक्ने सीप सिक्न उहाँ आश्रममा जाने महिलालाई अनुरोध गर्छन् ।

युवा अवस्थामा भारतमा कमाएको रकम चोरी भएर सुरक्षित जीवन जीउने आशमा आश्रम आइपुगेका स्याङ्जाका खिना गिरीको अनुसाशित जीवनशैलीले गर्दा ९० वर्षमा पनि फुर्तिलो र निरोगी बनाएको छ । उनी पनि हेटौँडा–२ स्थित ॐ वृद्धाश्रममा बसेपनि छुट्टै पकाएर खान्छन् त्यो पनि आफ्नै पौरखले ।

स्याङ्जाको वालिङ घर भएका गिरीले जग्गाजमिन कम भएको र खान नपुग्ने भएकाले धन कमाउन भारत गएको बताए । भारतमा सडक बनाउने कामको ठेक्का गर्न थाले । राम्रो कमाई भएकाले त्यहीको एक युवतीसँग विावह गरी उत्तै बसेको उनले बताए ।

विवाहको केही वर्षपछि श्रीमतीले छोडेर गएको गिरीले सुनाए । त्यसपछि कमाउने, खाने र केही रकम बुढेसकाललाई जोगाउने गरेको उहाँले स्मरण गरे । उनी ६५ वर्षको उमेर पछि भने धाम घुम्ने र सादा जीवनशैलीमा रमाउने गर्न थाले ।

कहिले बृन्दावन र कहिले मथुरा धाम बस्ने क्रममा आफूसँग भएको रकम चोरी हुँदै गएपछि विरगञ्ज आएको गिरीले बताए । त्यस समयमा त्यहाँ एक जना प्रहरीले बरु हेटौँडामा गएर आश्रममा बस्नु भनेर सुझाउदा आफु हेटौंडा आइपुगेको उनले बताए । उनले आश्रमको खोजीमा हेटौँडा आइपुग्दा ॐ वृद्धाश्रम निर्माणाधीन रहेकाले तत्कालीन समयमा आफूसँग भएको पाँच लाख १८ हजार दिएर एउटा कोठामा बस्न थालेको गिरीले जानकारी दिए ।

पछि आश्रममा बसे पनि खानपानको व्यवस्था आफ्ना लागि आफैँले गरिरहेको उनको भनाइ छ । बिहान ३ बजे उठ्ने र बोट बिरुवामा पानी हाल्ने काम सकेर चोकतिर चियाका लागि निस्कने उनको दैनिकी नै हो ।

हेटौँडामा धेरै पण्डितसँग चिनजान भएकाले पूजापाठ र कर्महरुमा जाने अवसरसमेत मिल्ने गरेको गिरीले बताए । पूजापाठ गरेर आएको अन्न र दक्षिणाले खानपानको व्यवस्थापन भइरहेको उनको भनाइ छ । बेलुका घाम रहँदैमा खाना खाने र सात बजे रेडियोको समाचार सकिएसँगै सुत्ने गिरीले अनुशासित जीवनयापन र स्वस्थ खानपानले शरीरमा रोग नलाग्ने अनुभव सुनाए। ॐ वृद्धाश्रममा अहिले ४० देखी एक सय १० वर्षसम्मका नौ जना आमा र १४ जना बुवा आश्रित छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *