राजनीति

देशको चौतर्फी संकट समाधान गर्न समाजवादको यात्रालाई व्यापक बनाउन जरुरी छ : खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले युवा वर्ग देशको सामाजिक–आर्थिक विकासका निम्ति क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् ।

अनेरास्ववियूको ६०औं एवं युवासङ्घ नेपालको ३५औं स्थापना दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका श्रमजीवी युवा पलायन भइरहेको अवस्थामा युवाहरू एकजुट भएर स्वदेशमा नै उद्यम गर्ने वातावरण बनाउन जरुरी भएको बताएका छन् ।

जनताका तत्कालीन समस्या समधान गर्न जनपरिचालन गर्नुपर्नेमा जोड दिँदै उनले भनेका छन्, ‘हाम्रो देश यतिबेला समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरेको छ । तर देश भने चौतर्फी सङ्कटबाट गुज्रिरहेको छ । समाजवादतिरको यात्रालाई व्यापक बनाउन जरुरी छ ।’

पूर्व प्रधानमन्त्री खनालले सम्पूर्ण समस्याको एक मात्र समाधान समाजवाद भएको बताउँदै समाजवादले मात्र शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समधान गर्न सक्ने विचार व्यक्त गरेका छन् । ‘यात्रा समृद्धिको र लक्ष्य समाजवाद’ को नारालाई व्यवहारमा अनुवाद गर्न उनले आह्वान गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *