राजनीति

हस्ताक्षर कीर्ते अभियोगमा कांग्रेस नेता बुढाथोकीविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका कांग्रेस सभापति देवीबहादुर बुढाथोकीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । हस्ताक्षर किर्ते अभियोगमा प्रहरीले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, चौताराले पक्राउ पुर्जी जारी गरेको हो ।सिन्धुपाल्चोक जिल्ला अदालतमा मुद्दा चलिरहेको अवस्थामा मुद्दा दायरकर्ता राजेन्द्र थामीको बाबु कृष्णबहादुर थामीलाई मुद्दा फिर्ता लिन धम्की दिएको र सार्वजनिक ठाउँमा दुर्व्यवहार गरेको उनीमाथि आरोप लागेको छ ।

बुढाथोकीले भोटेकोशी गाउँपालिकाका स्थानीयहरुको हस्ताक्षर कीर्ते गरी निवेदक बनाई वारेस नियुक्त गरी प्रधानमन्त्री कार्यालयदेखि भोटेकोशी गाउँपालिकाका अध्यक्षसम्मलाई विपक्षी बनाई २०८१ वैशाख ४ मा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। मुद्दा दायर गर्दा पेस भएको कीर्ते हस्ताक्षरमा आफ्नो पनि हस्ताक्षर भएकाले बाध्य भएर बुढाथोकीविरुद्ध स्थानीय राजेन्द्र थामीले जिल्ला अदालतमा रिट निवेदन दायर गरेका थिए ।

बुढाथोकीविरुद्ध अन्य ठाउँहरुबाट पनि प्रशस्तै गुनासो आएको, तर बुढाथोकीको डरले उनीहरुले लिखित रुपमा उजुरी दिन नसकेको हुन सक्ने स्रोतले बताएको छ। अहिलेसम्म राजनीतिक संरक्षणका कारण बुढाथोकी बारम्बार अनैतिक र विकास विरोधी कार्यमा तल्लिन भए पनि अब त्यस्तो नहुने र भोटेकोशी गाउँपालिकामा बुढाथोकीको गुण्डाराज अन्त्य गर्ने गरी उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले बताएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *