काठमाडौं। सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् ।
सभामुख घिमिरेको सचिवालयका अनुसार सभामुखले दिउँसो २ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने लागेका हुन् ।
सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनका माग गर्दै कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।
बिहीबार प्रतिनिधिसभामा भएको सत्तापक्ष र विपक्षको धकेलाधेकलले तिक्ततापूर्ण बनेको राजनीतिक माहोललाई सहज बनाउँदै मध्यमार्गी विकल्पमार्फत सहमति खोज्न प्रधानमन्त्रीले कांग्रेस नेताहरुसँग छलफललाई निरन्तरता दिएका थिए ।