शिक्षा / स्वास्थ्य

शिक्षामन्त्री श्रेष्ठले भनिन–एकल प्रदर्शन गरिरहेका चापागाईंका विषय सकरात्मक छन्

काठमाडौं । ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ एकल प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंलाई शिक्षामन्त्री सुमना श्रेष्ठले भेटेकी छन् ।

आइतबार प्रदर्शनस्थल माइतीघरमा चापागाईंलाई भेटे पछि शिक्षामन्त्री सुमनाले माग सकरात्मक भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएकी छिन् । शिक्षामन्त्री श्रेष्ठले चापागाईंले उठाएको विषय निकै महत्वपूर्ण रहेको बताइन् ।

चापागाईंले प्रारम्भिक बाल विकास (ईसीडी) तहलाई तीन तहको बनाउनुपर्ने, तालिमप्राप्त दक्ष शिक्षक राख्नुपर्ने, दिवा खाजाको रकम बढाउनुपर्ने लगायतका पाँच बुँदे माग प्रदर्शन गरिरहेका छन् । उनले प्रदर्शन गरेको आज पाँचौं दिनमा शिक्षामन्त्री सुमना भेट्न पुगेकी हुन् । नेपाल समाजवादी पार्टीले उठाएका कतिपय मागलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रममा समेटेको शिक्षामन्त्री श्रेष्ठको भनाइ छ ।

चापागाईंको प्रदर्शनमा साथ दिन गएका नेपाल समाजवादी पार्टीका नेताहरुले सरकारी विद्यालयमा पढ्ने बालबालिकालाई प्रारम्भिक बाल विकास तथा शिक्षा (ईसीडी) कार्यक्रम र निजी विद्यालयमा पढ्ने बालबालिकाहरुलाई प्लेग्रुपदेखि यूकेजीसम्मको शिक्षामा सरकारको दोहोरो चरित्र देखिएको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *