काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारकर्मीहरुको पत्रलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पाँचबुँदे पत्र बुझाएपछि उनको यो प्रतिक्रिया आएको हो ।
उनले सञ्चारकर्मीहरुको पत्रलाई सकारात्मक रुपमा लिएको भन्दै कैलाश सिरोहिया छिट्टै छुट्ने आशय व्यक्त गरे ।
यसअघि प्रचण्डले चन्द्रागिरीमा भएको एक कार्यक्रममा बिहान अदालत आफूले बु्झेको भन्दै सिरोहिया छुट्ने दाबी गरेका थिए ।
पछिल्लो घटनाक्रमलाई जोडेर मिडियाका सम्पादकहरुले प्रचण्डलाई संयुक्त पत्र लेखेका हुन् । पत्रमा सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी सिरोहियालाई पक्राउ गरिएको घटनालाई प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएको उल्लेख गरिएको छ ।
गृहमन्त्री रवि लामिछानेले मिडियामाथि आफ्ना गल्ती लुकाउन शत्रुभाव देखाएकोसमेत पत्रमा उल्लेख गरिएको छ । उनी अहिले पनि लाखौँ नेपाली जोडिएको सहकारी ठगी प्रकरणमा मुछिएको र दुई देशको राहदानी बोकेको गम्भीर कसूरमा सजायका भागेदार भएको पनि उल्लेख गरिएको छ ।