देश

दक्षिणकालीको भिरबाट खसेर मृत्यु भएका दुई युवायुवतीको सनाखत

काठमाडौं । काठमाडौँको दक्षिणकालीमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका दुई जना युवायुवतीको सनाखत भएको छ । बुधबार साँझ दक्षिणकाली नगरपालिका–८ केराबारीस्थित भिरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा एक युवती र एक युवकको शव फेला परेको थियो।

प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले मृत अवस्थामा भेटिएका पुरुष शव धादिङको सिद्धलेक गाउँपालिका– ५ घर भई हाल भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल रहेको जानकारी दिए । उनका अनुसार युवती चाँगुनारायण नगरपालिका –५ भक्तपुरकी ३२ वर्षीया सविना राई हुन्।

बुधबार दिउँसो दक्षिणकाली नगरपालिका– ८ केराबारी भन्ने ठाउँको अप्ठ्यारो भिरमा कालो जिन्सको पाइन्ट र खैरो टिसर्ट लगाएको युवक तथा कालो जिन्स पाइन्ट, आकासे रंगको टिसर्ट लगाएको तथा रातो लेडिज ब्याग बोकेको अवस्थामा युवतीको शव फेला परेको थियो। स्थानीयले एकै ठाउँमा महिला र पुरुषको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

स्थानीयको सूचनापछि इलाका प्रहरी कार्यालय फर्पिङ, प्रहरी बृत्त कीर्तिपुर तथा विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट गएको प्रहरी टोलीले सडकबाट दुई सय मिटर तल भिरमा अड्किएको अवस्थामा शव निकालेको थियो। ‘उनीहरुको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको पल्सर मोटरसाइकल पनि फेला परेको छ। अप्ठ्यारो खोंचमा मोटरसाइकल खसेको कारण समयमै घटनाको विषयमा जानकारी नभएको अधिकारीले बताए। उक्त घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *