राजनीति

रवि लक्षित प्रदीपको टिप्पणी : अझै पदमा बस्नु नांगो भइसक्दा पनि कपडा लगाएको ठान्नु जस्तै

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा भन्दै नैतिकताको बोध नगरिने राजनीति कांग्रेसले अन्त्य गरेर छोड्ने दाबी गरे ।

उनले सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि उपप्रधान एवं गृहमन्त्रीकै पदमा रहीरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ रहेको टिप्पणी गरे । उनले छानबिन समिति बनाउँदा पनि राजीनामा दिनु पर्दैन भनेपछि मात्रै संसदीय छानबिन समिति बनेको जिकिर गरे । उनले नेपाली कांग्रेसले संसदमा सहकारीको मुद्दा नउठाएको भए ७३ लाख जनता जोडिएको मुद्दालाई निर्णायक मोडमा पु¥याउन नसकिने स्थिति रहेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीले संसदमा सहकारीको मुद्दा त्यस ढंगबाट अगाडि ल्याउँदैन थियो भने यहाँ सहकारी पीडितहरुले न्याय पाउने अवस्था हुँदैन थियो । ७३ लाख जनता जोडिएको मुद्दालाई नेपाली कांग्रेसले एउटा निर्णायक मोडमा पु¥याएको छ । संसदमा नेपाली कांग्रेस पार्टीले यसलाई सशक्त ढंगबाट संसदमा भएका साना पार्टीहरु छोडेर कुनै पनि राष्ट्रिय पार्टीले यो सहकारीको मुद्दालाई उठाएको थिएन ।’

नेता पौडेलले सत्तालाई सम्पूर्ण रुपमा दुरुपयोग गरेर यो मुद्दा उठ्न नदिन, गुपचुप गर्न, ढाकछोप गर्न, प्रमाण लुकाउन सम्पूर्ण रुपमा अहिलेको सत्तारुढ गठबन्धन लागेको आरोप लगाए । ‘त्यसैले समिति गठन गरेर जसमाथि छानबिन गर्न खोजेको हो । हामीले संसदीय समिति गठन गरेर जसमाथि छानबिन गर्न खोजिएको हो, त्यो व्यक्तिलाई तपाईंले राजीनामा दिनुपर्दैन भनर फकाएर, तपाईं जुन कुर्सीमा बसिरहनुभएको छ, तपाईंमाथि छानबिन हुँदाहुँदै पनि तपाईं त्यस कुर्सीमा बसिरहन पाउनु हुन्छ ।’

उनले थपे, ‘राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा हो । कोही व्यक्ति नांगै छ र पनि कपडा लगाएको ठान्छ भने त्यसमा हाम्रो केही लाग्दैन । त्यसैले संसदले छानबिन समिति गठन गर्‍यो । त्यसपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा एउटा गम्भीर विषय हो । प्रतिगामी विषय हो । जसलाई छानबिन भइरहेको छ, त्यो व्यक्तिले नै सत्ता चलाउने त्यो खालको परिस्थितिलाई नेपाली कांग्रेसले अन्त्य गरेर छोड्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *