देश

संवैधानिक निकायमा ५२ जनाको नियुक्तिविरुद्धको रिटमा आज पेशी

काठमाडौं। अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न मागसहित दर्ता भएको रिट निवेदनमाथि सुनुवाइ गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार पेशी परेको छ ।

बुधबार सो रिट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत, र न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाल सम्मिलित इजलासमा पेशी तोकिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गरी विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेका ५२ जना पदाधिकारी तथा सदस्यहरूको नियुक्ति बदरको माग गर्दै रिट परेको थियो ।

अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा यसअघि २०७८ चैत ९ गते कारण देखाऊ आदेश जारी भएको थियो भने २०७९ असार ८ गतेको आदेशमा सबै मुद्दालाई लगाउमा राख्ने र सबै विपक्षीलाई जानकारी दिने आदेश भएको थियो ।

मुद्दामा संवैधानिक नियुक्ति लिएका ५२ जना, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संवैधानिक परिषद्का सदस्य आदिलाई विपक्षी बनाइएको छ ।

सो मुद्दामा पेशी तोकिएपनि आज पनि सुनुवाई हुने सम्भावना भने ज्यादै न्यून छ । रिटको पेशी २१औं नम्बरमा परेको र सर्वोच्चमा आज फुटकोर्ट बैठक पनि रहेको हुँदा सुनुवाइ नहुने लगभग निश्चित जस्तै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *