देश

सडकमा शव, राजमार्ग अवरुद्ध

बाँके । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–९ स्थित ढकेरीमा गए राति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । स्थानीयले उक्त टिपरमा आगजनी गरेका छन् भने राजमार्ग अवरुद्ध पारेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले गए राति टिपरको ठक्करबाट राप्तीसोनारी ९ स्थित ढकेरीमा मोटरसाइकल चलाइरहेका राप्तीसोनारी गाउँपालिका–८ का अन्दाजी ३५ वषीय लोकेन्द्र विष्टलाई ठक्कर दिँदा विष्टको घटनास्थलमै ज्यान गएको बताए ।

उनका अनुसार गए राति अन्दाजी ९ः३५ बजेको समयमा कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको भे १ ख ३०१९ नम्बरको टिपरले पूर्वबाट कोहलपुरतर्फ आउँदै गरेको भे १० प १४१३ नम्बरको विष्ट सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करपश्चात् विष्टको घटनास्थलमै ज्यान गएको हो ।

स्थानीयले ठक्कर दिने टिपरलाई आगजनी गरेको र सडक अवरुद्ध पारेको उनले जानकारी दिए । दुर्घटनापश्चात् टिपरचालक फरार रहेको साथै उक्त गाडीका मालिक भने प्रहरीको सम्पर्क आएको उनले जानकारी दिए । सडक खुलाउनका प्रहरीले पहल गरिरहेको छ । साथै फरार रहेका टिपर चालकको पनि खोजतलास भइरहेको प्रनाउ डाँगीले जानकारी दिए ।

मृतक विष्ट राप्तीसोनारी गाउँपालिका ८ स्थित पुष्पाञ्जली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष साथै मध्य विन्दु मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सचिव रहेको स्थानीय कवीन्द्र परियारले जानकारी दिए । परियारका अनुसार मृतकको शव अहिलेसम्म पनि सडकमै राखिएको छ भने पूर्वपश्चिम राजमार्ग स्थानीयले अवरुद्ध बनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *