राजनीति

बजेट ३२ सांसदका लागि मात्र हो : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले माओवादी पार्टी समाप्त हुने संघारमा रहेको टिप्पणी गरेका छन् । बजेट माओवादीका सांसदका लागि मात्र लक्षित गरेर आएको आरोप उनले लगाए ।

विनियोजन विधेयकमाथि आइतबार प्रतिनिधिसभा बैठकमा खर्च कटौती प्रस्ताव पेश गर्ने क्रममा सांसद सिंहले बजेट माओवादीले जित्ने ठाउँमा मात्र खन्याउने काम गरिएको आरोप लगाएका हुन् । ‘यो बजेट केही व्यापारीले बनाएको हो, अर्थमन्त्रीको इन्ट्रेस्टमा । यो बजेट केबल माओवादीका ३२ सांसदका लागि हो । २७५ जना सांसदको भनेर सोच्नु दिवा सपना हो,’ सांसद सिंहल भने, ‘किनकी माओवादी पार्टी समाप्त हुने अन्तिम संघारमा छ । आफ्नो सांसद भएको ठाउँ र जित्न सक्ने ठाउँमा मात्र बजेट खन्याइएको छ । हामी जस्ता निर्धा सांसदकोमा बजेट छैन ।’

बजेटले मन्दीमा रहेको अर्थतन्त्र उकास्ने काम नगरेको आरोप उनले लगाए । ‘पाँच जना व्यापारीले लबिङ गर्‍यो भने करका दर घटाउने र बढाउने काम भएको छ, यस्तो पनि राजनीति हुन्छ ?’ उनले आक्रोश पोखे । जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले पेस गरेको बजेटअन्तर्गत विभिन्न मन्त्रालयका लागि विनियोजित शीर्षकमाथि संसद्मा छलफल चलिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *