देश

पहिरोले कोशी राजमार्ग अवरुद्ध

धनकुटा।अविरल वर्षाका कारण सडकका ठाउँठाउँमा पहिरो झरेपछि कोशी राजमार्ग अवरुद्ध भएको छ।

कोशी राजमार्गअन्तर्गत पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिका—६ फेदी र घण्टेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।

माटोको लेदोसहित खोलामा आएको बाढीले सडक पुरिएपछि मंगलबार बिहानदेखि कोशी राजमार्गमा सवारी आवतजावत बन्द भएको हो। सडक खुलाउने प्रयास भइरहे पनि निरन्तरको बाढीका कारण समस्या भएकाले अझ केही समय लाग्ने धनकुटाका प्रहरी प्रवक्ता राजबाबु महर्जनले बताए।

राजमार्ग अवरुद्ध भएपछि कोशी पहाडका धनकुटासहित भोजपुर, सङ्खुवासभा, तेह्रथुम जाने सयौँ सवारिसाधन रोकिएका छन्।

लगातारको वर्षाको कारणले कोशी राजमार्गका एक दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ। रुद्रबारी, गुठीटार लगायतका दर्जनौँ स्थानमा पहिरो गएको छ। सडकमाथि थुप्रिएको माटोसहितको लेदो पन्छाउने काम भइरहेको महर्जनले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *