देश

मृतकका परिवारलाई प्रतिपरिवार ३० लाख राहत उपलब्ध गराउने इलेक्ट्रो पावर कम्पनीको घोषणा 

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन अवस्थामा रहेको  ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किएर मृत्यु भएका मृतकका दुई परिवारलाई  कम्पनीले राहत उपलब्ध गराउने भएको छ ।

 आयोजनामा काम गर्ने क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारू र सुमन थारूको गत शुक्रबार मृत्यु भएको थियो । आयोजनामा काम गर्ने क्रममा  एक्कासी ढलान भत्किएर दुई कामदारको मृत्यु भएपछि मृतकका परिवारलाई राहत स्वरुप   भोटेकोशी गाउँपालिका–४ मा निर्माण भइरहेको आयोजनाको प्रवर्द्धक इलेक्ट्रो पावर कम्पनी लिमिटेडले प्रतिपरिवारलाई ३० लाख बराबरको  राहत प्याकेज उपलब्ध गराउने निर्णय गरेको हो । 

 
 इलेक्ट्रो पावर कम्पनीका  प्रोजेक्ट म्यानेजर इन्जिनियर उमेश पराजुलीका अनुसार   आयोजना निर्माणको ठेक्का लिएर काम गरिरहेको सब९कन्ट्र्याक्टर कम्पनी बीएमआर कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि र मृतकको पक्षबाट उक्त पालिकाका वडा  अध्यक्षले सोमबार लिखित सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । १५ दिनभित्र  मृतकका परिवारलाई तोकिएको रकम उपलब्ध गराउने सम्झौतामा लिखित हस्ताक्षर  भएको इन्जिनियर पराजुलीले जानकारी दिएका छन् ।

‘ म्यानेजर पराजुलीले  सब कन्ट्र्याक्टर कम्पनीको तर्फबाट आयोजनामा कार्यरत रहेको तर सब कन्ट्र्याक्टरलाई सहजीकरण गर्नका लागि  आयोजना प्रवर्द्धक कम्पनीले नै राहत प्याकेज उपलब्ध गराउने घोषणासहित मृतकका परिवारलाई भेटेर समवेदना प्रकट गर्दै  नगरपालिकाका प्रतिनिधिसहितको उपस्थितिमा लिखित सम्झौता गरेको बताए ।

कम्पनीले सम्झौता अनुसार मृतकका परिवारलाई कामदारको जीवन बिमा बापतको २० लाख रुपैयाँ परिवारको मुद्धति खातामा निक्षेपको रूपमा जम्मा गरिदिने , प्रतिपरिवार नगद ७ लाख रुपैयाँ र डेढ लाख रुपैयाँ काजकिरिया खर्चबापत उपलब्ध गराउने घोषणा गरेको छ । यस्तै  मृतकका छोराछोरीलाई १२ कक्षासम्म पढाइ खर्च उपलब्ध गराउने, आयोजना निर्माण अवधिभर मृतकले पाउने गरेको तलब परिवारको खातामा कम्पनीले उपलब्ध गराउने ठाकुरबाबा नगरपालिकाका मेयर तीलकराम लम्सालले  लिखित सम्झौतामा उल्लेख भएको स्पष्ट पारे । कम्पनीले  मृतक परिवारका सदस्यलाई आयोजनामा रोजगारी दिने समेत सम्झौतामा उल्लेख गरेको छ ।  

मेयर लम्सालका अनुसार मृतकका परिवार मध्ये एक परिवारको २ वर्षकी छोरी रहेको र अर्को परिवारमा मृतककी श्रीमती गर्भवती भएकाले  गर्भवतीलाई पौष्टिक आहार तथा स्यहार सुसारका लागि थप १ लाख रुपैयाँ समेत उपलब्ध गराइने कम्पनीसँग सम्झौता भएको छ ।  परियोजनाहरूले कामदारको बिमा  गर्दा १० लाखभन्दा बढीको गरेको हामीले अहिलेसम्म जानकारी पाएका थिएनौं, तर “भोटेकोसी–१ को प्रवर्द्धक इलेक्ट्रो पावरले बिमा नै २० लाख रुपैयाँको गरेको रहेछ मेयर लम्सालले भने । 

‘इलेट्रो पावरका प्रोजेक्ट म्यानेजर उमेश पराजुलीका अनुसार डिसेन्डर बेसिनको संरचना भत्किनुका कारणबारे कम्पनीले अनुसन्धान जारी राखेको छ । घाइते भएकाहरुको स्वास्थ्य अवस्थामा अहिले सुधार आइसकेको समेत  जानकारी दिए । प्रोजेक्ट म्यानेजर  पराजुलीका अनुसार  इलेक्ट्रो हाइड्रोले एक वर्षअघि (२०८० साउनबाट) आयोजनाको निर्माणकार्य सुरु  गरेको थियो ।  दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको आयोजनाको हालसम्म ३० प्रतिशत निर्माणकार्य पूरा भएको छ  । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *