देश

पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । लमजुङ–मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडकको लमजुङ खण्ड स्याँगेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । मर्स्याङ्दी गाउँपालिका–४ स्याँगेमा गएको वर्ष निर्माण गरिएको ढलानमा पहिरो खसेको स्थानीय मेग गुरुङले जानकारी दिए ।

बेंसीसहरबाट करिब २२ किलोमिटरको दूरीमा रहेको स्याँगेमा ठूला ढुङ्गासहितको पहिरो खसेको छ । बेंसीसहरबाट मनाङतर्फ जाँदा वारी स्याँगे कटेपछि पारी स्याँगेको सडकमा पहिरो खसेको हो । गए राति ढुङ्गासहितको पहिरो खसेको र पहिरोले सडक अवरुद्ध बनाएको वडाअध्यक्ष बलबहादुर गुरुङले बताए ।

सडक अवरुद्ध भएपछि सोमबार बिहानैदेखि सवारी साधन वारपार हुन नसकेको उनले बताएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले स्याँगेमा सडक अवरुद्ध भएको खबर प्राप्त भएको र सडक खुलाउन प्रहरी खटाइसकिएको बताए ।

बेंसीसहर–चामे सडक हाल तल्लो मनाङको नासों गाउँपालिका ९, दानक्युसम्म सञ्चालनमा छ । दानक्युदेखि माथिल्लो क्षेत्र सदरमुकाम चामेसहित मनाङ ङिस्याङ गाउँपालिका पुग्न सडक २ सातादेखि बन्द छ । चामे गाउँपालिका १, तिमाङ खोलाको २ ठाउँमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध छ । बेंसीसहर–डुम्रे सडक भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *