काठमाडौं।सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको बैठक स्थगित भएको छ। सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो।
प्रदेश सभा बैठकमा सरकारको प्रतिनिधिको रुपमा मन्त्रीको उपस्थिति नभएकाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको सभामुख भीमबहादुर भण्डारीले बताए।
सुदूरपश्चिम प्रदेश सभा नियमावली २०८० को नियम ६ को उपनियम ५ ले मुख्यमन्त्री वा मन्त्रीको उपस्थित अनिवार्य गरेको छ। अल्पमतमा रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीसहित अन्य ५ मन्त्री संसद् छल्दै आएका छन्।
विशेष अधिवेशनको पहिलो र दोस्रो बैठकमा कृषि मन्त्री टीका थापा उपस्थित भएर बैठक सञ्चालन भएको थियो। बैठकमा सहभागी नहुने मुख्यमन्त्री सोडारीको रणनीतिविपरित बैठकमा सहभागी भएपनि आइतबार कृषि मन्त्री थापा बर्खास्तमा परिन्।
असार २० मा एमालेले समर्थन फिर्ता लिएपछि बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने मुख्यमन्त्री सोडारीको तयारी थियो। एमाले र कांग्रेसले प्रदेश प्रमुख नजिर मियाँसमक्ष समावेदन पेस गर्दै विशेष अधिवेशन माग गरेर सोडारीलाई अध्यादेश ल्याउनबाट रोकिएको थियो।
त्यसपछि सोडारी नेतृत्व सरकार विशेष अधिवेशनको बैठकमा सहभागी भएको छैन।
विपक्षीले बाले टर्च
सुदूरपश्चिम प्रदेश सरकार संसद्मा उपस्थित नभएपछि विपक्षी दलका सांसदहरुले सोमबार दिउँसै टर्च बालेर सरकारको खोजी गरेका छन्।
संसद् छल्ने सरकारको विरोधमा धनगढीस्थित प्रदेश सभा भवनको मूल प्रवेशद्वारमा नेपाली, कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले टर्च बालेर सरकारको खोजी गरेका हुन्।