सम-सामयिक

पशुपति कोटीहोम कथावाचक अनिरुद्धाचार्य महाराज सहभागी हुने

गोदावरी । चर्चित कथावाचक अनिरुद्धाचार्य महाराजले भोलि शनिबारदेखि पशुपतिमा जारी कोटिहोममा कथावाचन गर्ने भएका छन् ।

मानव सेवा फाउण्डेसनले आयोजना गरेको मासिक कोटिहोम महायज्ञमा भारतका लोकप्रिय कथावाचक अनिरुद्धाचार्यले श्रीमद्भागवत कथा प्रवचन गर्ने भएको हो ।

कथावाचक अनिरुद्धाचार्य महाराजले भोलि पशुपतिनाथ मन्दिरको दर्शन गरी कोटिहोम महायज्ञमा आर्शिवचनसहित कथावाचन गर्ने कार्यक्रम रहेको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजयकृष्णमूर्ति महाराजले जानकारी दिए ।

भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराजले सानै उमेरदेखि वृन्दावनमा वेद, पुराणसहित धार्मिक ग्रन्थको अध्ययन गरी समग्र भारतवर्षभर प्रवचनमा ख्याति कमाउनुभएको आयोजकले जनाएको छ । धार्मिक प्रवचनका क्षेत्रमा शीर्षस्थानमा रहेका अनिरुद्धाचार्यको प्रवचन श्रवण गर्न हजारौँ भक्तजनको उपस्थिति हुनेगरेको बताइएको छ ।

आयोजकका अनुसार हिन्दू धर्मको रक्षा एवं वृद्ध तथा गरिबको सेवामा समर्पित अनिरुद्धाचार्यको सनातन हिन्दूधर्म र गौमाताको रक्षासहित सामाजिक कार्यतर्फ विशेष रुचि रहेको छ । स्वदेश तथा विदेशमा नाम चलेका कथा वाचक एवं वाचिकद्वारा वाचन हुँदै आएको पशुपति कोटिहोममा कथा श्रवणका लागि अहिले भक्तजनको भीड लागिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *